धनगढी – करिब दुई वर्षदेखि निरन्तर उपचाररत एक बिरामी सफल उपचारपछि घर फर्किएका छन् । धनगढी–५ स्थित निसर्ग अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिका अनुसार २०८१ साउन ३१ गते घर नजिकै सडकमा साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएका बन्दना लिम्बु उपचार पछि घर फकिएका हुन ।
गम्भीर घाइते लिम्बुको डडेलधुरा अस्पतालमा प्राथमिक सामान्य उपचार पछि एम्बुलेन्समार्फत निसर्ग अस्पतालमा रिफर गरी भर्ना गरिएको थियो ।

भदौ १ गते पहिलो शल्यक्रिया गरिएका उनको उपचारका क्रममा स्वास्थ्य अवस्थाअनुसार हालसम्म दुईवटा मेजर तथा माइनर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ । उपचार अवधिभर विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी, सघन नर्सिङ सेवा, फिजियोथेरापी तथा पुनःस्थापना सेवा निरन्तर प्रदान गरिएको थियो ।

अस्पतालका अनुसार उपचारको निरन्तरता, चिकित्सकीय व्यवस्थापन तथा पुनःस्थापना सेवाको प्रभावका कारण बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । करिब १ वर्ष ११ महिनाको उपचारपछि उनी पूर्ण स्वास्थ्य पुनःप्राप्तिको यात्रातर्फ अग्रसर हुँदै घर फर्किएका हुन् ।
लामो उपचारका कारण बिरामीको परिवारमा ठूलो आर्थिक भार परेको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उपचारपश्चात बाँकी रहेको ३१ लाख ७७ हजार रुपैयाँ बराबरको उपचार खर्च पूर्ण रूपमा मिनाहा (छुट) गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए ।
अस्पतालले बिरामीलाई घर फर्किएपछि दैनिक जीवनयापन र आवतजावत सहज बनाउन अस्पतालका तर्फबाट एक थान आरामदायी ह्विलचेयर समेत सहयोगस्वरूप हस्तान्तरण गरिएको छ ।
निसर्ग अस्पतालले उपचार प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगदाता, शुभेच्छुक, सञ्चारकर्मी तथा बिरामीका आफन्तप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, विशेषज्ञ र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

















