धनगढी – सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा सहभागिता जनाएर देशको सान बढाउने खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । सामाजिक विकास मन्त्री बेलबहादुर रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा खेलाडीहरूलाई जनही ७० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा ओलम्पिकमा सहभागी बक्सिङ खेलाडी विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट रहेका छन् । त्यसैगरी, चार पटक दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा ओलम्पियन कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र यसैगरि तेक्वानदो खेलाडी निशा रावललाई पनि सम्मान गरिएको छ ।


यस्तै सम्मानित हुने खेलाडीहरूमा पौडीकी गौरीका सिंह, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोका भरतसिंह महरा र पारा एथलेटिक्सका विक्रमबहादुर राना रहेका छन् । परिषद्ले भारोत्तोलनका खेलाडी स्वर्गीय भरत बहादुरलाई मरणोपरान्त सम्मान गरेको छ ।
सम्मानित भएपछि खेलाडी दीपक विष्टले कार्यक्रममा बोल्दै सुदूरपश्चिम खेलकुदमा सधैँ अगाडि रहेको र नेपाली खेलकुद क्षेत्रलाई सुदूरपश्चिमले दबाब दिइरहेको बताए । ‘हामीसँग स्रोत साधनको अभाव भए पनि साहसको कमी छैन । यस्ता सम्मानले हामीलाई अझै केही गर्ने आँट दिन्छ। खेलकुदमा बजेटको अभाव छ, तर मन्त्रीज्यू र प्रदेश सरकारले खेलाडीहरूलाई निराश पार्नुहुने छैन भन्ने आशा छ,’उनले भने ।
मन्त्री बेलबहादुर रानामगरले खेलाडीहरू देशका गहना भएको चर्चा गर्दै प्रदेश सरकार खेलकुदको विकास र खेलाडीको वृत्ति विकासमा प्रतिबद्ध रहेको बताए । उनले सीमित स्रोत साधनका बाबजुद पनि प्रदेशले खेल क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

















