बैतडी–बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि शनिबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिनासम्मका ३ सय २२, १६ महिनादेखि २३ महिनासम्मका १ सय ८७ र २४ महिनादेखि ५९ महिनासम्मका ९ सय ६ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु लगाउने गरिएको छ । गाउँपालिकाका ८ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।


















