खाेज्नुहाेस

सुदूरपश्चिमको स्थायी राजधानी निर्माण सहितका माग राख्दै सुदूरपश्चिम सरकारलाई ज्ञापन पत्र

Image

अत्तरिया– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणसहितका माग राख्दै सुदूरपश्चिमको नवगठित सरकारलाई ज्ञापन पत्र बुझाईएको छ । नेकपा एमाले कैलाली क्षेत्र नं. ४ समन्वय कमिटिले प्रदेशको घोषित क्षेत्रमा राजधानी निर्माण गर्ने लगायतका विभिन्न मागहरु राख्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

समन्वय कमिटिका संयोजक गणेश जिमि साउँदले प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा (थापा), आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल तथा कृषि मन्त्री दमन बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

attariya hospital
navjiwan hospital

ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गतेको बैठकबाट दुई तिहाई भन्दा बढी बहुमतले घोषणा गरेको कैलालीको गोदावरी नगरपालिका– २ र ४ तेघरी क्षेत्रमा अझै सम्म राजधानी निर्माणको प्रकृया सुरु नहुनु प्रदेशबासीहरुका लागि चिन्ताको विषय भएको उल्लेख गरिएको छ । ‘प्रदेशका ९ ओटा जिल्लाको भुगोल, सुगमता, विकास सन्तुलन र भविष्यको रणनितिक महत्वलाई दृष्टिगत गरी जनप्रतिनिधिहरुको सार्वभौम थलोबाट गरिएको उक्त निर्णय संघियताको संस्थागत विकासका लागि एक महत्वपुर्ण कोशेढुङ्गा थियो’ ज्ञापन पत्रमा भनिएको छ ‘तर निर्णय भएको लामो समय व्यतीत भइसक्दा समेत स्थायी राजधानीका लागि आवश्यक भौतिक संरचना, जग्गा व्यवस्थापन तथा प्रशासनिक स्थानान्तरणका कामहरुले ठोस गति लिन नसक्नु समग्र सुदूरपश्चिमबासीको लागि गम्भीर चिन्ता र चासोको विषय बनेको छ ।’

ज्ञापनपत्रमा प्रदेशको स्थायी राजधानी गोदावरीमा निर्माण प्रक्रिया अघि बढाउन आवश्यक बजेट तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने तथा राजधानी क्षेत्रको जग्गा व्यवस्थापन तथा वातावरणीय अध्ययनका प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने मात्रै नभई चौकीडाँडा–फल्टुडे सडकलाई व्यवस्थित रूपमा निर्माण गरी पहाडी क्षेत्रसँग सहज सडक सञ्जाल विस्तार गर्नुपर्ने र धार्मिक पर्यटनको विकासका लागि धार्मिक सर्किट निर्माणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत माग गरिएको छ ।

ज्ञापनपत्रमा राखिएका मागप्रति मुख्यमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले सकारात्मक धारणा व्यक्त गरेका थिए । उनिहरुले आवश्यक प्रक्रिया अघि बढाउने तथा मागहरूलाई कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा एमाले क्षेत्र नं. ४ समन्वय कमिटिका संयोजक साउँदले बताए । राजधानी निर्माणसँगै सडक पूर्वाधार र धार्मिक पर्यटनको विकासलाई एकीकृत रूपमा अघि बढाउन सके गोदावरी क्षेत्रलाई सुदूरपश्चिमको महत्वपूर्ण प्रशासनिक, आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।