खाेज्नुहाेस

हेमा श्री फाउण्डेशन नेपालद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना

Image

बनबेहडा – हेमा श्री फाउण्डेशन नेपालको आयोजना तथा अमर माध्यमिक विद्यालय बनबेहडा कैलालीको समन्वयमा वडा स्तरीय कक्षा (६–८) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
गौरीगंगा–६,कैलालीका ४ वटा विद्यालयहरूको बिचमा उक्त प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

आधारभूत तहका विद्यार्थीहरूलाई ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा फाउण्डेशनका का.वा.अध्यक्ष श्री हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए ।

attariya hospital

हेमा श्री फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) को सभापत्विमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपति डा.टीएन जोशी रहेका थिए भने विशिष्ट अतिथिमा अमर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर कुँवर, प्रधानाध्यापकउजिरसिंह कुँवर थिए भने अन्य अतिथिहरूमा कैलाली भिजन स्कुलका प्रअ ध्वज बोगटी, जुपीटर एकेडेमी नेपालका प्रअ मनि राम धामी, विणा विद्या मन्दिरका प्रअ दल बोगटी,शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

navjiwan hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.टीएन जोशीले हाजिरी जवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालयमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताए । साथै यस्तो प्रतियोगिता आयोजनाले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह हुने भएको हुँदा फाउण्डेशनले गरेको उक्त कार्यको खुलेरै प्रशंसा गरे ।

चार वटा विद्यालयहरूका बिचमा भएको प्रतियोगितामा विणा विद्या मन्दिर प्रथम भएको थियो । साथै सो प्रतियोगितामा जुपिटर एकेडेमी नेपाल द्वितीय, अमर मावि तृतीय र कैलाली भिजन स्कुल सान्त्वना भएका थिए ।

विजेताहरूलाई प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि लगायतकाले पुरस्कार वितरण गरेका थिए । जसमा, प्रथम स्थान हासिल गर्ने विणा विद्या मन्दिरबाट सहभागी ४ जनालाई ५ वटा कपी, ज्यामितीय बक्स, एक दर्जन डेटपन र प्रमाण–पत्र, द्वितीय पुरस्कार जुपिटर एकेडेमी नेपालबाट सहभागी ४ जनालाई ५ वटा कपी, एक दर्जन डेटपन र प्रमाण–पत्र, तृतीय तृतीय स्थान हासिल गर्ने अमर मा.वि.का सहभागी ४ जना प्रत्येकलाई ५ वटा कपी र प्रमाण–पत्र र सान्त्वना स्थान हासिल गर्ने कैलाली भिजन स्कुलका सहभागी ४ जना विद्यार्थीहरूलाई एक- एक दर्जन डेटपन प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितात्मक कार्यक्रमका निर्णायक सदस्यहरूमा मेखराज जोशी, ध्वज बहादुर बोगटी र निर्मल भण्डारी रहेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक नवीन विष्टले गरेका थिए ।

हेमा श्री फाउन्डेसन नेपालले गरिब,असहाय तथा अवसर बाट वञ्चित समुदायका बालबालिकालाई लक्षित गर्दै विभिन्न सहयोगात्मक कार्यक्रम र शिक्षा,स्वास्थ्य तथा सामाजिक सहयोगको क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ।