खाेज्नुहाेस

अतिक्रमण हटाउने वनको कार्यशैलीको चर्को आलोचना

Image

अत्तरिया – कैलालीमा डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने कार्यशैलीको चर्को आलोचना भएको छ । शुक्रवार (जेठ २९ गते) कैलालीको गोदावरी नगरपालिका – ४ मा वन कार्यालयले वनमा गरिएको अतिक्रमण हटाउने क्रममा अपनाएको शैलीको चर्को आलोचना भइरहेको हो ।

विशेष गरेर अतिक्रमण हटाउने क्रममा सडक किनारामा व्यवसायी सञ्चालन गरिएको टेम्पो भिरमा फालिएको घटना देशभरि चर्चाको विषय बनेको छ । अतिक्रमण हटाउने क्रममा सवारी साधन नै भिरमा फाल्ने अमानवीय व्यवहार गरिएको भन्दै चर्को आलोचना मात्रै गरिएको छैन सो कार्यमा संलग्नलाई कडा कारबाहीको माग पनि गरिएको छ । उक्त अटो भिरमा फालिएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि यो घटना राष्ट्रिय मुद्दा नै बनेको छ ।

attariya hospital

घटनापछि अहिले पीडित प्रहरी प्रशासनमा पुगेका छन् । टेम्पो धनी गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीय धना देवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएको बताएकी छिन । प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ । अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

navjiwan hospital

टेम्पो भिरमा खसालिएको घटना सुदूरपश्चिम सभामा पनि उठेको छ । आइतबार प्रदेश सभाको नियमित कार्यसूचीमा प्रवेश गर्नु पूर्व बोल्दै सांसदहरूले टेम्पु भिरमा खसालिएको घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रदेश सभा सदस्य खेमा देवी विष्टले पीडित माथि झन् पिडा दिने काम भएको बताइन । उनले भ्यागुते पानीको बस्ती खोलाको जोखिममा भएर सडकमा बसेका स्थानीय माथि यस्तो व्यवहार गर्ने माथि कडा कारबाही गर्न माग गरिन । प्रदेश सभा सदस्य सन्तोष शर्माले घटनाको निन्दा गर्दै जीवन चलाउने साधनमाथि अमानवीय व्यवहार गरिएको भन्दै पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने बताइन । प्रदेश सभा सदस्य ओम विक्रम भाटले गरिबमाथि सरकारले अन्याय गरेको बताए । उनले सरकारले गरिबी हटाउने नारा दिएर गरिब समाप्त गर्न खोजेको बताए ।

यसैबिच कैलाली उद्योग वाणिज्य संघले वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरमा खसालिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष पुष्कर राज ओझाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ मा सडक छेउको अतिक्रमण हटाउने क्रममा भएको घटनाको सत्य तथ्य छानबिन गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा वन अतिक्रमण हटाउने क्रममा भएको धरपकड तथा अमानवीय व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

उता वन कार्यालयले भने यसको बचाउ गर्दै आइतबार बिहानै प्रेस विज्ञप्त निकालेको छ । वन कार्यालयले भौगोलिक अवस्था र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भएर भीरमा खसेकाे र, टेम्पु कुनै गुड्ने वा सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई धकेल्न सकिने अस्थायी संरचना मात्र रहेको बताएको थियो ।

वन क्षेत्र अतिक्रमण गर्न प्रयोग गरिएको उक्त टेम्पोलाई यसअघि पनि हटाउन निर्देशन दिइएको र एक पटक वन कर्मचारीले सम्बन्धित व्यक्तिको घरसम्म पु¥याइदिएको दाबी वन कार्यालयको छ । पुनः सोही स्थानमा ल्याएर फलफूल व्यापार सञ्चालन गरिएको कार्यालयको भनाइ छ । वनले गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरेर पछाडितर्फ सार्ने क्रममा भिरालो भौगोलिक अवस्था र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई भीरबाट खसेको जनाएको छ ।