खाेज्नुहाेस

टेम्पो भीरमा खसालिएको घटनामा सोधपुछका लागि १० जना प्रहरी नियन्त्रणमा

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ मा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो । घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका १० जना कर्मचारीलाई नियन्त्रणमा लिएर बयान लिइरहेको जनाएको छ ।

attariya hospital
navjiwan hospital

प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ । अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

उक्त घटनामा गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएको आरोप लगाएकी छन् । उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दै आग्रह गर्दा पनि कर्मचारीले नसुनी टेम्पो भीरमा खसालेको बताएकी थिइन् ।

यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई पन्छाउन खोज्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश भीरमा खसेको दाबी गरेको छ ।