अत्तरिया – कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापनका लागि सरकारले २ अर्ब ५३ करोड विनियोजन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त रकम विनियोजन गरिएको हो ।

गेटामा आगामी शैक्षिक सत्रबाट ४ वटा विषयमा अध्ययन अध्यापन गराउनका लागि २ अर्ब ५३ करोड बजेट माग गरिएको थियो । जसअन्तर्गत एमबिबिएसमा ५० सिट, बीएससीमा ३० सिट, वीएसी एमएलटीमा २० सिट र बी अप्टोमेट्रीमा २० सिटमा अध्यापन गराउन तयारी छ । उक्त कार्यक्रम सञ्चालनका लागि सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताल आबद्ध गर्ने तयारी गरिएको छ ।

विश्वविद्यालयका लागि माग गरिए अनुसार बजेट विनियोजन गरिएपछि यस क्षेत्रका स्थानीयले खुसी व्यक्त गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिका सचिव धर्म सिंह कुँवरले विश्वविद्यालय सञ्चालनका लागि सरकारले आवश्यक रकम विनियोजन गरेको भन्दै धन्यावाद ज्ञापन गरे । उनले लामो समय देखि आफूहरूले उठाउँदै आएको माग पुरा परेको भन्दै अब आगामी शैक्षिक सत्रदेखि गेटामा चिकित्सा शिक्षा अध्ययन अध्यापन हुने आशा जागेको बताए । ‘सरकारले प्राथमिकतामा राखेको भने पनि आवश्यकता अनुसार बजेट विनियोजन भएको छ या छैन भन्ने संशय थियो’ उनले भने ‘शिक्षा मन्त्रालयको कार्यक्रममा आवश्यकता अनुसार बजेट विनियोजन गरेको देख्न पाउन खुसी लागेको छ ।’
प्रतिनिधि सभा सदस्य खेम कोइरालाले पनि विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भएको भन्दै अब सबैले कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । सामाजिक सञ्जाल मार्फत उनले विश्वविद्यालयका लागि सरकारले १ अर्ब ७१ करोड ८७ लाख र विश्वविद्यालय अनुदान तर्फको ८१ करोड ४९लाख ८४ हजार गरेर २ अर्ब ५३ करोड विनियोजन गरेकाले यसको पूर्ण रुपले सञ्चालन गर्न सहज वातावरण बनाउनु आग्रह गरेका छन् । उनले अर्थ मन्त्रीले अझै अपुग भएमा थपेर पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
गेटामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भए पनि यस क्षेत्रका सरोकारवाला एवम् स्थानीयले पनि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरिरहेका छन् ।

















