धनगढी – निजी सञ्चारमाध्यममाथि अंकुश लगाउने उद्देश्यले सरकारले गरेको निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको भन्दै पत्रकारहरूले कैलालीमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्ना कार्यक्रममा पत्रकारहरूले स्वतन्त्र पत्रकारिता, नागरिकको सूचनाको अधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।

धर्नाका क्रममा सहभागी पत्रकारहरूले “निजी सञ्चारमाध्यममाथिको विभेदकारी निर्णय तुरुन्त खारेज गर”, “प्रेस स्वतन्त्रता हाम्रो अधिकार, कुनै हालतमा हुँदैन स्वीकार”, “लोकतन्त्रको आधार प्रेस स्वतन्त्रता, सरकारले नगरोस् हस्तक्षेप र नियन्त्रण” लगायतका नारा सहितका प्ले कार्ड बोकेर धर्नामा सहभागी भएका थिए। सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सूचनामाथिको नागरिक अधिकार कुण्ठित नगर्न सरकारसँग माग गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले इतिहासका विभिन्न राजनीतिक कालखण्डमा समेत पत्रकारितामाथि अहिलेको जस्तो हस्तक्षेप नभएको दाबी गरे । उनले पत्रकारिता क्षेत्रमाथि भइरहेको सरकारी दबाब र विभेदकारी नीतिहरू स्वीकार्य नहुने स्पष्ट पारे ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणका लागि महासंघ सदैव एकजुट रहेको बताए । सरकारले गरेको विभेदकारी निर्णयविरुद्ध महासंघले देशव्यापी रूपमा सशक्त गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले वर्तमान सरकार पत्रकार तथा मिडिया मैत्री नरहेको आरोप लगाए । उनले सरकारले सुरुमै सरकारी विज्ञापन रोकेर सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको प्रयास गरेको दाबी गर्दै उक्त निर्णय फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
नेपाल पत्रकार महासंघले केन्द्रबाट जारी गरेको परिपत्रअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा एकैसाथ धर्ना कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।



















