अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बन्दगडामा २०६८ देखि अघि सारिएको सिचाई योजनाले अझै सार्थकता पाएको छैन । करिब ७ किलोमिटर टाढा रहेको कालाखोलाबाट सिचाई नहर बन्दगडा सम्म निर्माण गरिएको भए पनि पानी भने पुगेको छैन । २०७२ सालमा ४ किलोमिटर नहर निर्माण सम्पन्न भएर सोही वर्ष खुटिया दिपायल सडक मर्मतका क्रममा भत्किएको नहर थियाे । पुनः मर्मत गरेर २०७९ मा बन्दगडा सम्म पानी पुगाइएको भए पनि नहरमा पानी भने एक महिना पनि टिकेको छैन । नहरको पानी बन्दगडामा पुगेकै वर्ष असारमा आएको भेलले नहरको पाखापानी र दामदड्या खोलाको दोभानमा हालिएको नहरको पाइप बगाएपछि धानमा सिँचाई गर्ने सपना अधुरै रहेको स्थानिय बताउँछन ।
असारमा बगेको सिचाई नहर पाइप अघिल्लो असारमै मर्मत गरिए पनि केही दिन मै बगाएको बन्दगडा सिँचाई जल उपभोक्ता समितिका कोषाध्यक्ष लाल बहादुर साउँदले बताए ।

‘नहरको पाइप बगेपछि सिचाई कार्यालयले २०८० सालमा पाइप हाल्न लगायो । त्यो एक महिना पनि टिकेन असारमा बगायो’ उनले भने ‘फेरी २०८१ मा पाइप हाल्न लगायो । त्यो पाइप पनि उदेनेर लग्यो ।’
उक्त नहर आरसिसी ढलान गरेर निर्माण गरिएको भए पनि बन्दगडामा पुग्नु अघि पाखापानी र दामदड्या खोलामा भने करिब २०० मिटर १६ इन्चको पाइप हालेर पानी खोला वारी ल्याइएको छ । उक्त सुख्खा खोलाको पारीबाट वारी बन्दगडा सम्म पानी ल्याउन हालिएको पाइप बर्सादमा आउने भेलले बर्सेनि बगाउने गरेको छ ।
कोषाध्यक्ष साउँदले खोलामा हालेको पाइप बर्सेनि खोलाले बगाउने भएकाले आकाशबाट पाइप खोला तार्नका लागि आवश्यक संरचना बनाइदिन माग गरे पनि सुनुवाइ नभएको बताए । ‘हामीले आकाशे पुल बनाइदिनु आकाशबाट पिल्लर सिस्टम गराइदिनु भन्दा उनीहरूले तल हाल भन्छन् । तल हालेको एक महिनामा खोलाले बगाउँछ । यो पाइप खोला पार लग्न २०/३० लाख आउँछ त्यसले केही पनि हुँदैन । त्यो पनि बिना डिजाइन गरेर आउँछ त्यतिकै खेर जान्छ ।’

बन्दगडा सिँचाई जल उपभोक्ता समितिका अध्यक्ष तिलक सिंह धामीले सिँचाई आयोजनाको कहिले पनि राम्रो सँग काम गर्न नपाएको बताए । ‘२०६८ सालदेखि हामीले यो योजना सुरु गरेका हौ । यो योजनाले कहिले पनि राम्रो सँग काम गर्न पाएन । निर्माण भएपछि डोटी दिपायल सडकले एक किलोमिटर नै क्षति पुगायो । त्यसमा पहिरो पर्ने, खोलामा दुई पटक अन्डरग्राउन्ड पाइप हालेको बगायो’ उनले भने ‘सिँचाई कार्यालय सँग हाम्रो गुनासो के हो भने तिन वर्ष भयो हामीले यसको मर्मत गर्न भनेको सुनुवाइ हुनुप¥यो ।’ खोलामा भूमिगत हालेको पाइप पटक पटक खोलाले बगाएकाले पुल हालेर माथिबाट पाई लगिदिन भने पनि सुनुवाइ नभएको उनले बताए ।
उनले भने ‘२० लाख बजेट दिएर यो खोलामा काम हुँदैन । आवश्यक बजेट कहिले आउँदैन ।’ उनले पटक पटक सुनुवाइ नभएपछि यस पटक २ सय जनाको हस्ताक्षर गरेर माग गरिरहेको बताए । उनले भने ‘हस्ताक्षर सहितको फाइल तयार पारेको छु यो वर्ष पनि सबै तिर हार गुहार गरिरहेका छु । यो वर्ष पनि बजेट दिएर काम भएन भने अब मैले सकेन भनेर कान समाएर हिँड्नु पर्ने अवस्था आएको छ ।’
समितिका उपाध्यक्ष गंगा बहादुर साउँदले सिचाई पानी नहुँदा अहिले बन्दगडाका २ ढाई सय जनताले सास्ती खेप्नु परेको बताए । उनले भने ‘यत्रो जनताको लागि खोलामा रोकिएको पाइप सरकारले एक डेढ करोड लागे पनि बनाइदिनु पर्छ । पानी पुगेका बन्दगडामा सिचाई पुग्ने हो ।’

स्थानीय रनी साउँदले सरकारले मर्मतका लागि थोरै बजेट दिने त्यो पनि असारमा दिने गर्दा काम भएको पनि सफल नहुने गरेको बताए । ‘सरकारले थोरै बजेट दिन्छ त्यो पनि जेठ असारमा दिन्छ । खोलामा कसरी जेठ असारमा काम हुन्छ’ उनले भने ‘असारमै बजेट आउँछ असारमै बगाउँछ ।’ उनले उपभोक्ता समितिका नाममा असारमा बजेट हालेर कार्यकर्ता पाल्ने जस्तो भएको बताए । उनले भने ‘काम नहुने बजेट आउँछ । यसले हामी स्थानीयले सास्ती खेप्नु परेको छ । यो कार्यकर्ता पाल्ने बजेट मात्रै आइरहेको छ । पानी पुग्ने बजेट आउनु प¥यो ।’
स्थानीय प्रसदे नेपालीले सिँचाइका लागि पानी नहुँदा निकै समस्या भोग्नु परेको बताए । उनले भने ‘सुख्खा हुँदा निकै समस्यामा छौ यसमा पुल बनाएर पाई खोला तर्दा पानी आउँथ्यो की भन्ने हाम्रो आशा हो ।’
स्थानीय नर बहादुर साउँदले बन्दगडामा सबै किसिमका अन्नबाली तरकारी हुने भए पनि पानीको समस्याले खेत बाझै राख्नु परेको बताए । उनले भने ‘अहिले आकाशे पानीको भरमा रोपाई हुन्छ । पानी भएन भने भदोमा पनि हामीले रोपाई गरेका छौ ।’
उक्त सिचाइ आयोजनाको पानी खोलाले पाइप बगाउँदा बन्दगडामा नपुगेपछि सिचाइ नहर छेउका मल्लो हाटखोली, मौरीभावरका स्थानीय भने लाभान्वित भएका छन् ।



















