दार्चुला – अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर–पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो ।
स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे । गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ ।


सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । अपिहिमाल–१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् । सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पु¥याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ ।
सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।
सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।



















