खाेज्नुहाेस

दिनेशखबरको कार्यालयमा आएर धम्की दिने व्यक्तिलाई पक्राउ गर्न पत्रकार महासंघको माग

Image

धनगढी – समाचार प्रकाशनको विषयलाई लिएर दिनेश एफएम तथा दिनेश खबर डटकमकी कार्यकारी निर्देशक एवं पत्रकार आर्जु हमाल र नारायण अवस्थीमाथि भएको दुर्व्यवहार र धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

महासंघका महासचिव शिवराज भट्ट तथा कैलाली शाखाका सचिवद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी नजिक दुई समूहबीच भएको खुकुरी हानाहान सम्बन्धी भिडियो समाचार दिनेश खबर डटकमले प्रकाशन गरेपछि धनगढीका विनोद ओझाले सञ्चार गृहमै पुगेर पत्रकार हमालमाथि गालीगलौज तथा दुर्व्यवहार गरेका हुन्।

attariya hospital
navjiwan hospital

विज्ञप्तिमा ओझाले “अनलाइनमा उक्त भिडियो किन राखेको, कसलाई सोधेर राखेको, भिडियो दिने को हो ?” भन्दै सञ्चार गृहमै पुगेर पत्रकारलाई धम्क्याएको उल्लेख गरिएको छ। साथै, घटनाअघि उनले ल्याण्डलाइन फोनमार्फत गालीगलौज गर्दै धम्की दिएको, सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक टिप्पणी गरेको र त्यसपछि सञ्चार संस्थामै पुगेर जे पनि गरिदिने चेतावनी दिएको समाचार कक्षका पत्रकारहरूले बताएका छन्।

महासंघले समाचारप्रति असहमति भए कानुनी उपचारका पर्याप्त माध्यम उपलब्ध हुँदाहुँदै सञ्चार गृहमै पुगेर पत्रकारमाथि गरिएको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारविरुद्धको कार्य भएको ठहर गरेको छ। साथै यसलाई कानुनी राज्यको उपहाससमेत भएको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले उक्त घटनाको घोर निन्दा गर्दै पत्रकारको सुरक्षाप्रति गम्भीर बन्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ। साथै पत्रकारलाई ज्यान मार्ने धम्की दिने विनोद ओझालाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ।