अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको घण्टेश्वर माविमा लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । मंगलबार वडा कार्यालयको सहयोगमा अत्तरिया मिडिया प्रालिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महरा र गोपाल जोशीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रम अघि आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्टले लागू औषधको नियन्त्रणका लागि वडा कार्यालय लागिपरेको छ । ‘अहिले यो क्षेत्रमा लागू औषधको भयावह अवस्था रहको छ । यसको नियन्त्रण गर्नको लागि ठुलो चुनौती छ’ उनले भने ‘अभिभावक, प्रहरी समाजसेवी सबै लागेको भए पनि यसको नियन्त्रण गर्न गाह्रो अवस्था छ । बालबालिका बढी यसको जोखिममा भएकाले वडाले सचेतनाका कार्यक्रम गरिरहेको छ ।’

बालबालिका भविष्यका कर्णधार भएको बताउँदै उनले आजका बालबालिका भोलिका नेता प्रधानमन्त्री, मन्त्री भएकाले देश बालबालिकाको भविष्य उज्ज्वल बनाउनको लागि सबै पक्ष लाग्नु पर्ने बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले लागू औषधको कारोबारीले लागू औषधको लत लगाउनको लागि बालबालिका प्रयोग गर्ने बताउँदै त्यसबाट सचेत हुन आवश्यक रहेको बताए । उनले भने ‘लागू औषधको कारोबारी निःशुल्क पनि लागू औषध खुवाएर बालबालिकालाई पानी पार्ने काम गर्छन् उनले भने ‘बालबालिकाले यस्ता कुराबाट सचेत रहनु पर्छ ।’
घण्टेश्वर माविका प्रधानाध्यापक जानुका भट्टले लागू औषध विरुद्धको कार्यक्रम निकै फलदायक रहेको बताइन् । उनले बालबालिकालाई लागू औषधबाट जोगाउन सचेतनाका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा घण्टेश्वर माविमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो ।

















