अत्तरिया – कैलालीको अत्तरियामा साहित्यकार पुष्प राज पाण्डेयकृत कथासङ्ग्रह ‘किनार’ को बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
आइतबार अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा साहित्यकार पाण्डेयकृत कथासङ्ग्रह ‘किनार’ को समीक्षात्मक छलफल तथा अन्तरक्रिया गरिएको हो ।


छलफल पुस्तकालयका अध्यक्ष भुपेश जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न समीक्षकहरूले उक्त पुस्तकमाथि प्रकाश पारेका थिए । कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सीताराम भट्ट, ऐश्वर्य विद्या निकेतनकी डा.तुलसी शर्मा, ऐश्वर्य बहुमुखी क्याम्पसका सह–प्राध्यापक नारायण दत्त अवस्थी, साहित्यकार लक्षीराम आचार्य, साहित्यकार खेम बतास, डोटी क्याम्पसका पूर्व सह–प्राध्यापक तीर्थराज जोशी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदम प्रकाश साउँद लगायतका समीक्षकहरूले उक्त कृतिको विषयमा आफ्नो पाठकीय तथा समालोचनात्मक धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका पदाधिकारी तथा कार्य समिति सदस्यहरू, सल्लाहकारहरू, पाठक वर्ग, पुस्तकालय प्रेमी एवम् अत्तरिया क्षेत्रका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
लेखक पुष्प राज पाण्डेयले कृतिका बारेमा रचना गर्भ सुनाउनुका साथै कृतिलाई सबै क्षेत्रबाट सहयोग भइरहेकोमा सबैप्रति धन्यवाद व्यक्त गरे । उक्त समीक्षात्मक कार्यक्रमको सञ्चालन साहित्यकार खेम बतासले गरेका थिए ।















