काठमाण्डौं – सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीको तुलनामा निक्षेप संकलन ५ गुणा बढी भएको छ । आर्थिक गतिवधि सुस्त हुँदा कर्जाको मागमा आएको कमीका कारण निक्षेप धेरै भएको हो । चालु आर्थिक वर्षमा समग्र अर्थतन्त्रमा माग बढ्न सकेन ।

त्यसले गर्दा कर्जा लगानी पनि न्यून भयो । तर, रेमिट्यान्स आप्रवा निरन्तर बढ्दा निक्षेप संकलन बढ्न पुग्यो । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिँदै जाने तर कर्जा लगानी सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको हो । यो अवस्था तत्काल सुधार हुने संकेत देखिएको छैन ।

२०८२ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ पुस मसान्तको तुलनामा २५.३६ प्रतिशतले वृद्धि भई १ खर्ब ८१ अर्ब ५० करोड ८० लाख पुगेको छ ।
यस्तो निक्षेप २०८२ असार मसान्तको तुलनामा ४.४२ प्रतिशतले बढेको हो । २०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिम प्रदेशमा प्रवाह गरेको कुल कर्जा २०८१ पुस मसान्तको तुलनामा ५.०५ प्रतिशतले वृद्धि भएर १ खर्ब ६१ अर्ब ८३ लाख पुगेको छ । यस्तो कर्जा २०८२ असार मसान्तको तुलनामा २.२९ प्रतिशतले बढेको छ ।


















