अत्तरिया – तराइमा उखर्मलाउदो गर्मी भएका बेला गोदावरीबाट १२ किलोमिटर पहाड चढ्ने बित्तिकै शीतलता दिने क्षेत्र हो बुढीतोला । गर्मी मौसममा शीतलता खोज्नेका लागि आकर्षक गन्तव्य हो बुढीतोला । सम्भावना नै सम्भावना भएको क्षेत्र हुँदा पनि बुढीतोलाको ब्रान्डिङ नहुँदा भने बुढीतोलाले अझै पर्यटकलाई रोक्न भने सकिरहेको छैन ।
बुढीतोला हुँदै बुढीतोलाको मौसमको आनन्द लिँदै पर्यटक ओहोरदोहोर गरिरहने भए पनि बुढीतोलामै समय बिताउने गन्तव्य बन्न नसकिरहेको बेला अहिले यसको ब्रान्डिङ मा स्थानीय जुटेका छन् । जसका लागि अहिले बुढीतोलाका घुम्तीहरूमा रहेका बजारको छुट्टाछुट्टै नामकरण गरिनुका साथै सडक किनारामा रहेका ढुङ्गामा आकर्षक चित्र, सडक किनाराका रुखहरूमा पुतलीका डमी राखेर पर्यटकलाई रोक्ने प्रयास गरिँदै छ ।

सडक किनारामा रहेका ढुङ्गाहरूमा आकर्षक र परम्परा झल्किने चित्र कोरिँदा सडक किनारा आकर्षक बनेको छ । बजार क्षेत्रमा फरक अनुभूति दिन फरक फरक रङ्गका झन्डा लगाएर सजाउने प्रयास गरिएको छ । बुढीतोलाको आकर्षकका रुपमा रहेको बुढीतोला पार्कलाई पनि पछिल्लो समय सजावट गरिएको छ ।
हाल स्थानीय व्यसायीहरुले बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समिति गठन गरेर छन् । उक्त समिति मार्फत बुढीतोलालाई सजाउन र प्रचार प्रचार गरिँदै आएको छ । समितिका अध्यक्ष हेमन्त गुरुङले विगत ३ महिना देखि आफूहरू बुढीतोलाको ब्रान्डिङ गर्न लागिपरेको बताए ।

उनले समितिका पदाधिकारी स्थानीयबाट रकम सङ्कलन गरेर बुढीतोलालाई सजाउने काम गरिएको बताए । उनले बुढीतोला भित्रै पर्ने बजारलाई ५ छुट्टाछुट्टै नामकरण गरेर प्रचार प्रसार गर्ने प्रयास गरिएको बताए ।
‘हामीले बुढीतोला भित्रकै ५ वटा बजार नामकरण गरेका छौ, जसमा भाबर बजार, डाँडा बजार, सालघारी बजार, बुढीतोला बजार, गौरीगडा बजार रहेका छन्’ उनले भने ‘हामीलाई बुढीतोला क्षेत्र अलिकति ओझेलमा परेको जस्तो लागेर हामीले यसलाई चलायमान बनाउने प्रयास गरिरहेका छौ । जसका लागि समिति गठन गरेर काम गरिरहेका छौ ।’ उनले बुढीतोला पर्यटकीय क्षेत्र भए पनि यो चर्चामा आउन नसकेको अनुभूति भएर आफूहरू यसको प्रचार प्रसार र ब्रान्डिङमा लागेको बताए ।
स्थानीय व्यवसायी तथा समितिका सल्लाहकार सदस्य अशोक मल्लले पछिल्लो समस्या बुढीतोला सजाएर छुटै गन्त्यव्यको रूपमा विकास गर्न आफूहरू लागिपरेको बताए । उनले बुढीतोला हुँदै पर्यटकहरू ओहोर दोहोर गर्ने गरेका भए पनि बुढीतोलामा पर्यटक कम रोकिने भएकाले बुढीतोला सजाउन लागिएको बताए ।
बुढीतोलमा हाल पर्यटकका लागि सुविधा सम्पन्न होटलहरु पनि सञ्चालनमा रहेको बताउँदै उनले बुढीतोलाको ब्रान्डिङ गर्न सके यस क्षेत्रको विकास गर्न सकिने बताए । बुढीतोलामा निजी लगानीमा फोर्ट हिस्टोरीक पार्क र फन गार्डेन सञ्चालन गरेका उनले पछिल्लो समयमा पर्यटक लक्षित गरेर बुढीतोलमा होटल व्यवसायमा लगानी भित्रिने क्रम जारी रहेको बताए ।
पर्यटकीय क्षेत्र बुढीतोलाका सम्भावना उजागर गर्न बुढीतोलामा पहिलो पटक पर्यटन महोत्सवको समेत आयोजना गरिएको छ । पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिले आयोजना गरिएको उक्त महोत्सवबाट बुढीतोलाको ऐतिहासिक महत्व उजागर हुने, पर्यटन प्रवद्र्धन तथा लगानी भित्र्याउन मदत पुग्ने अपेक्षा गरिएको छ । महोत्सव वैशाख १७ गते देखि २३ गते सम्म सञ्चालन हुँदै छ ।

















