शेर बहादुर ऐर/धनगढी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्ववारिका न्यौपानेले आफ्नो दल कुनै पनि हिसाबले कमजोर नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीद्वारा आयोजित “प्रेस चौतारीसँग उम्मेदवार” कार्यक्रममा सम्बोधन गर्दै न्यौपानेले राजनीतिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे । ‘हरेक चिज स्थायी हुँदैन । कुनै समय यहाँ एमाले कमजोर छैन’ उनले भने ‘मतका हिसाबले, प्रतिस्पर्धाका हिसाबले, मान्यताका हिसाबले लगायत कुनै पनि हिसाबले हामी पछाडि छैनौं ।’
कार्यक्रममा उनले आफ्नो पार्टीको संगठनात्मक अवस्था सुदृढ रहेको र जनतामाझ एमालेको स्वीकार्यता अझै बलियो रहेको जिकिर गरे । विगतका निर्वाचन परिणाम र वर्तमान जनमतको विश्लेषण गर्दै उनले क्षेत्र नम्बर १ मा एमालेले पुनः प्रभावशाली उपस्थिति देखाउने विश्वास व्यक्त गरे ।

न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि स्पष्ट प्राथमिकता निर्धारण गरिएको बताए । उनले विशेषगरी सौर्य ऊर्जाको सम्भावनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । ‘मेरो निर्वाचन क्षेत्रमा सौर्यको विकास गर्न सक्छौं । ऊर्जाको क्षेत्रमा अन्य केही गर्न सकिँदैन’ उनले भने । उनका अनुसार भौगोलिक अवस्था र प्राकृतिक स्रोतको उपलब्धताका आधारमा सौर्य ऊर्जा उत्पादन र विस्तार नै सबैभन्दा व्यवहारिक विकल्प हो ।
उनले स्थानीय तहसँग सहकार्य गर्दै साना तथा मझौला सौर्य परियोजना अघि बढाउने योजना रहेको जानकारी दिए । यसले ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने, साना उद्योग सञ्चालनमा सहयोग पुग्ने तथा युवालाई रोजगारी सिर्जना हुने विश्वास उनले व्यक्त गरे । न्यौपानेले एमालेले सार्वजनिक गरेको प्रतिवद्धतापत्र जनतामुखी भएको दाबी गर्दै अन्य दलहरूले समेत सोही एजेण्डा नक्कल गरेको आरोप लगाए । ‘हाम्रो प्रतिवद्धतापत्र हुबहु अन्य दलले ल्याए । हामीले जनताका एजेण्डा उठाएका छौं । जनताले मात्र नभई विभिन्न उम्मेदवारले पनि ती एजेण्डालाई स्वीकार गरेका छन्’ उनले भने ।

उनका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास जस्ता विषय एमालेको प्राथमिकतामा रहेका छन् । उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई केन्द्रमा राखेर योजना बनाइएको बताए । कार्यक्रममा बोल्दै न्यौपानेले समाजमा व्याप्त नकारात्मक सोच अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘समाजमा भएका नकारात्मक सोच तोडी सकारात्मक ढंगले अघि बढौं’ उनले आह्वान गरे । उनका अनुसार विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र सकारात्मक सोच अनिवार्य छ ।
उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ रूपमा लिनुपर्ने उल्लेख गर्दै एकअर्कालाई आरोप–प्रत्यारोपभन्दा पनि एजेण्डामा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे । ‘हामी कामका आधारमा मत मागिरहेका छौं । जनतालाई भ्रममा पार्ने काम हाम्रो होइन’ उनले भने ।
किसानका समस्या समाधान आफ्नो प्रमुख एजेण्डा भएको उल्लेख गर्दै न्यौपानेले कृषिको आधुनिकीकरणमा जोड दिए । ‘किसानका समस्या सम्बोधन गर्न कृषि आधुनिकीकरण, भूमि समस्या समाधान र डुबानको समस्या समाधानका लागि करिडोर अवधारणा लिएका छौं’ उनले स्पष्ट पारे ।
उनका अनुसार क्षेत्र नम्बर १ का धेरै किसान परम्परागत खेती प्रणालीमा निर्भर छन् । आधुनिक प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउ र बजार पहुँच अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको उनले बताए । यसलाई समाधान गर्न सहकारीमार्फत सामूहिक खेती, कृषि उपज संकलन केन्द्र स्थापना र प्रशोधन उद्योग सञ्चालन गरिने योजना रहेको उनले जानकारी दिए ।
भूमि व्यवस्थापनका विषयमा उनले अव्यवस्थित बसोबास र लालपूर्जा समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘भूमि समस्या समाधान बिना दिगो विकास सम्भव छैन’ उनले भने । कैलाली क्षेत्र नम्बर १ का विभिन्न बस्ती वर्षायाममा डुबानको समस्याबाट प्रभावित हुने गरेको उल्लेख गर्दै न्यौपानेले दीर्घकालीन समाधान आवश्यक रहेको बताए । उनले नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल निकास व्यवस्थापनका लागि ‘करिडोर अवधारणा’ अघि सारिएको जानकारी दिए ।
उनका अनुसार करिडोर अवधारणाअन्तर्गत नदी किनार क्षेत्रमा हरित पट्टी, सडक सञ्जाल र तटबन्ध निर्माण गरिनेछ, जसले बाढी नियन्त्रणसँगै आवागमन र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउनेछ । थारू बाहुल्य क्षेत्र भएकाले थारू समुदायको पहिचान, संस्कृति र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको न्यौपानेले बताए । ‘थारू संग्रहालय निर्माण गर्ने, थारू संस्कृतिको जगेर्ना गर्ने, जनतालाई आयसँग जोड्ने लगायत थुप्रै पूर्वाधार विकासका काम गरिनेछ’ उनले भने ।
उनका अनुसार थारू समुदायको मौलिक संस्कृति, परम्परा र इतिहासलाई संरक्षण गर्न सांस्कृतिक केन्द्र तथा संग्रहालय आवश्यक छ । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र स्थानीयलाई आयआर्जनको अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले सीपमूलक तालिम, घरेलु तथा साना उद्योग प्रवद्र्धन, हस्तकला र कृषि–पर्यटन विकासमार्फत समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।
रोजगारी सिर्जनालाई आफ्नो अभियानको केन्द्रमा राख्दै न्यौपानेले कामको सिर्जना गरेर युवालाई स्वदेशमै अवसर दिने प्रतिबद्धता जनाए । ‘काम सिर्जना गरेर रोजगारीसँग जोड्नेछौं । सम्भावना भएका क्षेत्र पहिचान गरिन्छ’ उनले भने । उनका अनुसार कृषि, ऊर्जा, पर्यटन, साना उद्योग र सेवा क्षेत्रमा लगानी बढाएर रोजगारीका अवसर विस्तार गर्न सकिन्छ । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय स्तरमै अवसर उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए ।

















