बझाङ – सिँचाइ आयोजनामा नक्कली कागजात तयार पारेर सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ६ जनालाई दोषी ठहर गरेको छ । सिँचाइ कुलो निर्माण कार्यमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो । अदालतले अभियोग पुष्टि हुने ठहरसहित सबै प्रतिवादीलाई कैद र जरिवानाको सजाय सुनाएको हो ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच फैसला गर्ने विषयमा राय बाझिएको थियो । राय नमिलेपछि मुद्दा आइतबार तेस्रो न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश गरिएको थियो । सिंहले प्रतिवादीहरू दोषी हुने ठहर गरेको रायमा श्रेष्ठले समर्थन जनाएपछि बहुमतका आधारमा फैसला भएको अदालत स्रोतले जनाएको छ ।

अदालतबाट दोषी ठहर हुनेमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नं. ४ का तत्कालीन वडाध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया रहेका छन् ।
विशेष अदालतले सबै दोषी ठहरिएकालाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । उनीहरूविरुद्ध आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७/७८ मा भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा काम नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएपछि आयोगले जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।















