धनगढी– धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सम्मानित भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ७१औँ प्रहरी दिवसको अवसरमा अस्पताललाई सम्मानित गरेको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउँदै आएको भन्दै अस्पताललाई सम्मानित गरिएको अस्पताल प्रशासनले जनाएको छ । शुक्रबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।


प्रहरी कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
धनगढीको हसनपुरमा रहेको १०० शय्याको निसर्ग हस्पिटलले विशेषज्ञ चिकित्सकीय सेवा, आकस्मिक उपचार, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, शल्यक्रियालगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले बिरामीलाई आवश्यकताअनुसार विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य सेवालाई व्यवसायमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको अस्पतालले विपन्न तथा असहाय नागरिकको उपचारमा सहयोग, सामाजिक संस्थालाई आर्थिक सहायता र विपद्मा परेका समुदायलाई राहत उपलब्ध गराउने कामसमेत गर्दै आएको छ ।
अस्पतालका अध्यक्ष पन्तले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै विपन्न, असहाय तथा आवश्यकतामा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

















