अत्तरिया – कैलालीमा सबैभन्दा बढी बेरुजु रहेको गोदावरी नगरपालिकामा पछिल्लो तीन वर्षमा एक रुपैयाँ पनि बेरुजु फछ्र्यौट गरिएको छैन । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०७९ अनुसार नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा कुल बेरुजु ४३ करोड ८६ लाख ३१ हजार रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा बेरुजु फछ्र्यौट नहुँदा थपिएको ५ करोड ४२ लाख ७६ हजार सँगै ४९ करोड २९ लाख ७ हजार पुग्यो । आर्थिक वर्ष २०८०/०८१ मा पुराको बेरुजु फछ्र्यौट भएन भने नयाँ ५ करोड ८ लाख ७३ हजार ६१५ बेरुजु थपिएर कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ पुगेको छ । नगरपालिकाले प्रतिक्रियाबाट आएको बेरुजु फछ्र्यौट गरे पनि अद्यावधिक बेरुजु फछ्र्यौट नगर्दा बर्सेनि थपिँदै गएको छ ।
कैलालीकै घोडाघोडी नगरपालिकाको अवस्था पनि उस्तै छ । कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार १५५ रुपैयाँ पुगेको यो नगरपालिकामा पनि आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा बेरुजु फछ्र्यौट गरिएको छैन । आर्थिक वर्ष २०८०/०८१ मा ६२ हजार १६५ बेरुजु फछ्र्योट गरिए पनि थप ३ करोड १७ लाख ४९ हजार ३१२ थपिएर कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार १५५ रुपैयाँ पुगेको छ ।


यी प्रतिनिधि उदाहरण मात्रै हुन । यहाँका पालिकाहरूमा बर्सेनि बेरुजु थपिँदै जाँदा फछ्र्यौटमा भने उदासीनता देखाउँदै आएका छन् । जसले गर्दा बर्सेनि बेरुजुको आकार बढ्दै गएको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८२ मा सुदूरपश्चिमका ८८ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २ अर्ब ११ करोड ४१ लाख ७ हजार बेरुजु देखिएको थियो भने कैलालीका १३ स्थानीय तहमा मात्रै ४७ करोड ६९ लाख २४ हजार २९३ रहेको थियो ।
जसअन्तर्गत चुरे गाउँपालिकाको बेरुजु ७ करोड ६ लाख ७३ हजार, लम्कीचुहा नगरपालिकाको बेरुजु ५ करोड ५७ लाख ८८ हजार, भजनी नगरपालिकाको बेरुजु ४ करोड ७४ लाख ९५ हजार, धनगढी उपमहानगरपालिकाको बेरुजु ४ करोड ७२ लाख ६९ हजार, टीकापुर नगरपालिकाको बेरुजु ४ करोड २९ लाख ७ हजार रहेको थियो ।
यस्तै कैलारी गाउँपालिकाको बेरुजु ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकाको बेरुजु ३ करोड २० लाख ९५ हजार, चुरे गाउँपालिकाको बेरुजु २ करोड ५३ लाख ६६ हजार, जानकी गाउँपालिकाको बेरुजु १ करोड ५५ लाख ९० हजार, बर्दगारिया गाउँपालिकाको बेरुजु १ करोड ३६ लाख १४ हजार र जोशीपुर गाउँपालिका ९६ लाख ७९ हजार रहेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा थपिएको बेरुजु सँगै कैलालीका पालिकाहरूको कुल बेरुजु ४ अर्ब ११ करोड ७ लाख २६ हजार १९६ पुगेको छ । जसअनुसार गोदावरी नगरपालिकाको बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ र घोडाघोडी नगरपालिकामा कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार १५५ पुग्दा लम्कीचुहामा कुल बेरुजु ५२ करोड ६४ लाख २९ हजार ७२२, टीकापुरको कुल बेरुजु ३४ करोड ५१ लाख ५० हजार २२१, जोशीपुरको कुल बेरुजु १२ करोड ९७ लाख २३ हजार ४७५, जानकीको कुल बेरुजु २१ करोड ३० लाख ५५ हजार ५६३, गौरीगंगाको कुल बेरुजु ३३ करोड ३६ लाख तीन हजार ५३८, धनगढीको कुल बेरुजु ३० करोड ६८ लाख ५७ हजार ६४९, चुरेको कुल बेरुजु १६ करोड ७१ लाख चार हजार ९३०, भजनीको कुल बेरुजु ३७ करोड ३९ लाख ६१ हजार ८१५ र बर्दगोरियाको कुल बेरुजु १८ करोड ४२ लाख ५० हजार २८२ रुपैयाँ पुगेको छ ।

पालिकाहरूमा जस्तै अवस्था सुदूरपश्चिम प्रदेशको पनि रहेको छ । प्रदेशमा पछिल्लो सात वर्षमा बेरुजु थपिँदै गएर कुल बेरुजु २ अर्ब ९८ करोड ४० लाख २० हजार पुगेको छ ।

सुदूरपश्चिममा महालेखा परीक्षणको प्रतिवेदन २०७५ मा ५९ लाख ५९ हजार बेरुजु रहेकोमा २०७७ मा ८८ करोड २८ लाख ७४ हजार, २०७८ मा ५७ करोड ५१ लाख ५७ हजार, २०७९ मा ७७ करोड २४ लाख ८१ हजार २०८० मा ९१ करोड ९५ लाख ७३ हजार, २०८१ मा ३७ करोड ६३ लाख ९१ हजार बेरुजु रहेको थियो ।

महालेखा परीक्षण प्रतिवेदन २०८२ मा आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश मन्त्रालय तथा निकाय र समिति तथा अन्य संस्थाको ३५ अर्ब ६२ करोड ५९ लाख ८१ हजारको लेखा परीक्षण गर्दा ५० करोड ६ लाख ९३ हजार बेरुजु थपिदा कुल बेरुजु २ अर्ब ९८ करोड ४० लाख २० हजार पुगेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशमा सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ । जसको बेरुजु २५ करोड ११ लाख ५४ हजार रहेको छ । त्यसपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ८ करोड ९८ लाख ९५ हजार, सामाजिक विकास मन्त्रालयको ७ करोड ७९ लाख ८८ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ५ करोड २२ लाख २२ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको २ करोड १२ लाख ७३ हजार बेरुजु रहेको छ ।

प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को बेरुजु मध्ये असुल गर्नुपर्ने २१ करोड ८१ लाख २१ हजार, अनियमित बेरुजु २६ करोड २५ लाख ७८ हजार र पेस्की १ करोड ९९ लाख ९४ हजार रहेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश बमले बेरुजु बढ्दै गएको विषयमा प्रदेश सरकार चिन्तित रहेको बताए । उनले केहि दिन अघि पनि मुख्यमन्त्रीले मन्त्री, राज्यमन्त्री, सचिवहरूलाई बोलाएर बेरुजु फछ्र्योटका लागि निर्देशन दिएको बताए । ‘यो विषयमा कार्यान्वयन गर्ने कर्मचारीहरूले नै हो । हामीले त निर्देशन दिने मात्रै हो’ उनले भने । त्यसपछि के कति बेरुजु फछ्र्योट भयो भन्ने बारेमा बुझ्न नपाएको उनले बताए । उनले बेरुजु जतिसक्दो छिटो न्यूनीकरण गर्नु भन्ने प्रदेश सरकारको निर्देशन रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सभाको लेखा समिति सदस्य खिमा देवी विष्टले महालेखा सँग बसेर छलफल गरेर बेरुजु फछ्र्योटको लागि सम्बन्धित मन्त्रालयलाई पत्र काटेरै निर्देशन दिइएको बताइन् । उनले आफ्नो कार्यकाल भन्दा अघिको पनि बेरुजु बाकी रहेकाले अहिले फछ्र्यौटमा समस्या भएको बताइन् । उनले अहिले पनि पुरानै अवस्थामा थपिनु नराम्रो भएको बताइन् ।
‘कतिपय कार्यालय, मन्त्रालयहरूले सैद्धान्तिक बेरुजु पनि फछ्र्यौटगरेका छैनन्’ उनले भनिन ‘कतिपय बेरुजु भने मन्त्रालयले पटक पटक ताकेता गरेर पनि सम्बन्धित फर्मले कागजात पेस नगरेर पनि लम्बिएको देखिन्छ ।’ उनले आफू प्रतिपक्षी दलको नेता पनि भएको संसद् बैठक चलेको बेला कुरा उठाउने बताइन । उनले महालेखाको प्रतिवेदनमाथि लेखा समितिमा छलफल चलिरहेको भए पनि जेन जी आन्दोलनका कारण रोकिएको बताउँदै संसद् चलेपछि पुन छलफल सुरु गरिने बताइन् । उनले कतिपय बेरुजुको भने फिल्ड अवलोकन पनि गरेर फछ्र्योटका लागि ताकेता गरिएको बताइन्।
कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले बेरुजु फछ्र्यौटको लागि आफूहरू निरन्तर लागिरहेको बताए । उनले बेरुजु घटाउने कुरामा आफूहरू लागिरहेको बताए । ‘कुन प्रकारको बेरुजु हो पहिल्याएर हामीले तत्काल फछ्र्योट गर्न सकिने बेरुजु फछ्र्योटका लागि प्रयास गरिरहेका छौ’ उनले भने ‘असुल उपर गर्नुपर्ने बेरुजुका लागि सम्बन्धित फर्म, व्यक्तिहरूलाई पत्राचार गरिरहेका छौ । कागजात अपुग भएर देखिएको बेरुजुको पनि कागजात पूर्ण गराउनको लागि लागिपरेका छौ ।’
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २ (त) र सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७९ को दफा २ (ध) बमोजिम पु-याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठह-याएको कारोबारलाई बेरुजुको रूपमा परिभाषित गरेको छ । बर्सेनि बढ्दै गएको बेरुजुले आर्थिक अनियमितता बढाइरहेको भए पनि यसतर्फ भने जनप्रतिनिधिले खासै चासो देखाएको पाइँदैन ।


















