अत्तरिया – सुदूरपश्चिम महोत्सवको १९ औँ संस्करण मंसिर २२ गते देखि हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना गरिरहेको महोत्सव मंसिर २२ गते देखि पुस २ गते सम्म धनगढी उपमहानगरपालिका – १ पशुपति टोलमा आयोजना गर्ने भएको हो ।
आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागी प्रदर्शनीमा विशेष जोड दिइने जनाइएको छ ।



महोत्सवमा स्थानीय व्यवसायीलाई विशेष प्राथमिकता दिनुका साथै कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नियमानुसार नवीकरण भएका सदस्यहरूलाई विशेष छुट तथा सहुलियत प्रदान गरिने संघका अध्यक्ष पुष्कर राज ओझाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा ३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटल र सूचना प्रविधि गरी ५ सय स्टलहरू रहने जनाइएको छ । जसमा कृषिका ४० वटा निःशुल्क, महिला उद्यमी, एकल महिला, स्थानीय परिकार गरी १५ वटा स्टल गरी जम्मा ५५ वटा स्टल निःशुल्क दिइने छ ।
महोत्सवमा ७ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति सहित २३ उप समिति गठन गरिएको छ ।

महोत्सव अवलोकनको लागी विद्यार्थी, खेलाडीहरूलाई ५० र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । महोत्सवमा संघमा दर्ता भएर नियमानुसार नवीकरण भएका व्यवसायी सदस्यहरूलाई सदस्यता पत्र देखाई निःशुल्क प्रवेश गराइने जनाइएको छ ।
















