खाेज्नुहाेस

निकास खोजौँ, विनाश होइन

Image
navjiwan hospital
प्रा. डा. युवराज संग्रौला –  राजनीतिक दलको गुटवादी, नव सामन्तवादी नेतृत्वले अब उप्रान्त बिदा लिनुहोस्। गल्तीको सजाय भोग्नुपर्छ र भविष्यको बाटो अवरोध गर्नु हुन्न। तर परिवर्तनले खोजेको  विगत सच्याउने नाममा हुने कारबाहीको नाममा “मानव अधिकारको प्रतिबद्धताका विरुद्धमा कंगारु न्यायलाई लागू गर्नुले शान्ति होइन द्वन्द्व निर्माण गर्ने छ। राज्यले अपराधको संरक्षण गर्नु पनि हुन्न। परिवर्तनले ल्याउने उन्नयन हो बदलाको माहौल होइन।” हामीलाई असभ्य हुने अधिकार छैन, कानुनको निष्पक्ष र स्वच्छ पालना गर्ने कर्तव्य मात्र छ। कानुन हातमा लिन पाइदैन । सुरक्षा निकायको मनोबल कमजोर बनाएर सार्वजनिक सुरक्षा कायम हुँदैन।
देशमा नागरिकको हत्या भएको र देश जलेको कुरा कदापि गौरवको विषय हुन सक्दैन, तर पनि क्रान्ति, विद्रोह र आन्दोलनमा हिंसा र उपद्रव हुन्छ। जहाँ मानिसको विवेकले काम गर्छ, त्यहा नोक्सानीलाई खपिन्छ, किनकि त्यो हुनुपर्ने बाध्यता भयो। तर असल नागरिक भएको समाजले त्यस क्रान्ति, विद्रोह वा आन्दोलनलाई “गौरवीकरण” (ग्लोरीफिकेसन)  गर्दैन, उपलब्धिहरूलाई समाजको सेवामा रूपान्तरण गर्दै अघि बढ्छ।
आज नेपालीहरूले यही यथार्थलाई आत्मसात् गरेर अगाडी जानुपर्छ। हामी उपद्रवलाई गौरबिकरण गर्दै द्वन्द्वको खेती गर्न उद्धत भएको अनुभूति हुन्छ।  हामीले हाम्रो भूराजनीतिलाई ख्याल गर्दै उन्नत निकासको बाटो खोज्नुपर्छ। तसर्थ, हामीले निम्न निकासका उपायमा राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।
१. नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपा र राप्रपा सबै दलका अध्यक्ष लगायत  तपाइहहरुको केन्द्रीय कमिटीमा पटक, पटक रहनु भएका, पार्टीलाई विविध गुटमा विभाजित गरेर दलभित्र षड्यन्त्रको विशाल जन्जाल तयार गर्ने महारथ हासिल गर्नुभएका सबैलाई पार्टीका जिम्मेवार पदबाट बिदा दिएर, विशेष महाअधिवेशनबाट नयाँ  नेतृत्व स्थापित गर्नुको कुनै विकल्प छैन। उहाँहरूको राम्रो कामको लगत राख्नु पर्छ र नराम्रो कामको पनि लगत राख्नुपर्छ। भारतीय कांग्रेसले यसो गर्न सकेन, र बिजोग छ। नेपाली कांग्रेसले यो बुझ्नुपर्छ। चिनिया कम्युनिस्ट पार्टीले माओकालको मूल्याङ्कन गर्दै आफूलाई नयाँ  नेतृत्वमा लग्यो, आज त्यो चीन निर्माण गर्न सफल भयो। कम्युनिस्टहरूले यो बुझ्नु पर्छ।  वर्तमान युवा जनविद्रोहमा व्यापक घुसपैठ भयो, त्यो सबैलाई थाह छ। तर आन्दोलन चाही तपाईहरुका बिरुद्ध भएकै हो र सबै पुस्ताको समर्थन भएकै हो। सचेत नागरिक देश बनाउन विद्रोह चाहन्थे, तर अभद्र कसैको स्वार्थ बोकेका देश विरोधी स्वार्थी समूहले देशै जलाइदिए।
२. हिजो सत्तामा पटक पटक पुगेका र पुग्न आएका कसैलाई “देशको माया होइन” केवल पदको मात्र माया लाग्यो। तपाईहरु कोहिपनि छैन जसले दृश्य अदृश्य शक्तिका अगाडी घुँडा टेकेको छैन। फरक कति मात्र हो भने कसैका घर जले, कसैका जलेनन्। कोही कसैका घर जलाउन लागे, कोही कसैका। हरेक पार्टीका कोही न कोही अर्कोको घर जलाउन लागे र पार्टीभित्रै एक गुटका अर्का गुटका  नेताको घर जलाउन पनि लागे। यही बेला राष्ट्रका धरोहर जलाउन विदेशीका प्यादाहरू लागे र उद्वेलित युवा उनका गोटी बने। किन त्यसो भयो, राम्रो सँग ख्याल गर्नुहोस् त, तपाइहरुका विगतका कुसंस्कार हेर्नुहोस् त
(१) तपाईँहरूले निर्वाचनलाई पैसा र गुन्डाको बलमा अपवित्र पार्नु भयो कि भएन?
(२)पैसा र छलछामबाट निर्वाचन जित्न सिडिओ र प्रहरी अझ न्यायाधीश सम्म प्रयोग गर्नु भयो कि भएन?
(३) राजनीति दर्शनलाई हगनगौंडीमा फ्याँक्नु भयो कि भएन,
४) ठेक्का लगाउँदा, आइजिपी नियुक्ति गर्दा, सचिव नियुक्ति गर्दा, राजदूत नियुक्ति गर्दा, आयोगका अध्यक्ष नियुक्ति गर्दा, न्यायाधीश नियुक्ति गर्दा पैसा लिनु भयो कि भएन?
(५) आफ्नो वर्गीय आधार र सिद्धान्त छोडेर अपवित्र गठबन्धन बनाउनु भयो कि भएन? तपाइहरूका वरिपरि विदेशी चम्चा थिए कि थिएनन्? पदबाट बाहिर बस्नै नसक्ने चाप्लुसहरुलाइ पोस्नु भयो कि भएन?  यी अपराध महँगा  थिए राष्ट्रको सार्वभौमसत्ता र राज्य व्यवस्थाको आत्मनिर्णयको अधिकारका विरुद्ध । तपाइहरुलाई जनताको कहिल्यै याद आएन। ६० किलोको माला ओढाउने चाप्लुसीलाई पार्टीका मालिक र पार्टी बनाउने सोझा सिद्धान्तका कुरा गर्नेलाई त मट्टितेल खन्याएर भगाउनु भयो नि अतः यी घोर गल्ती र अन्यायका लागि तंपाइहरुले आफैँ स्वइच्छाले पार्टीबाट बहिर्गमन गर्नुपर्छ।
३. २०४६ सालपछि विदेशी संस्था र सरकारका सल्लाहमा तंपाइहरुले राष्ट्रका सबै सार्वजनिक निगम र संस्थाहरू तथा उद्योगहरु बेच्नु भयो, कमिसन खानु भयो। जेन्जी भाइबहिनीहरू तपाइहरु पनि तथ्यको खोजी गर्नुहोस्। जो जो आज विदेश संस्था सँग जोडिएर आन्दोलन गर्दै हुनुहुन्छ तपाइहरुले माया गरेका ती संस्थाहरूले नै यी नेतालाई बिगार्न भूमिका खेलेका हुन। यी नेता उनीहरूकै एनजिओको घोडा बनेका हुन। उनीहरूले दिएका सबै पैसा उनीहरूकै गाडी, घर, यात्रा, तलबमा सिद्ध्याए्र गए र यी नेतालाई बिलासी पनि बनाए। भ्रष्टाचारको बीउ त  यिनैले रोपे जो आज तपाइमाथि लगानी गर्दैछ्न।
४. नेताज्युहरु, पजेरो काण्ड सही थियो? ललिता निवास काण्ड सही थियो? भुटानी शरणार्थी काण्ड, गिरीबन्धु काण्ड, वाइड बडी काण्ड, ओम्नि काण्ड सरकारी छापाखाना काण्ड, पतञ्जलि काण्ड ,टेलिकम्युनीकेसन का अनेक काण्ड, यी सबै भएका हुन र तंपाइहरुले जनताको चित्त दुखेको कुरा ख्यालै गर्नु भएन। यी गल्ती तंपाइहरुले स्वीकार गर्नै पर्छ। पैसा कसले कसले खाए थाह छैन। तपाईँ प्रधानमन्त्री भएकाहरूले खाएको थिएन होला मानौँ, तर छानबिन हुन किन दिनु भएन? अहिले सिंहदरबार र अन्य निकायमा आगो लगाउने मान्छेले अपराध गरेकै हो, तर जनताले थपडी मार्नुपर्ने अवस्था तंपाइहरुले निर्माण गर्नु भएको हो।
५. मानिसले चालक सवारी प्रमाणपत्रको डिजिटल कार्ड बनाउन कति समय भयो पैसा बुझाएको थाह छ? राष्ट्रिय परिचयपत्र बनाउँदा मानिसलाई कति हैरान पारियो थाह छ? परिचयपत्र बनाउँदा के के सूचना मागियो थाह छ? कति पटक मानिसले प्रमाणित गर्नु पर्ने हो म नेपालको नागरिक हुँ भनेर? इम्बोस्ड नम्बरको नाटक देख्नु भयो? सबै नेपालीका व्यक्तिगत सूचना विदेशीले लाने योजना तपाइहरुलाइ थाह नभेकै हो र? होइन, थाह छ। यी सबै कुराका पछाडि कमिसन छैन? छ। तंपाइहरुले भन्सारमा भ्याट लगाउनु भएको छैन? यी सबै कुराले  तंपाइहरुले आफ्ना दलहरूलाई यति कमजोर बनाउनु भयो कि पार्टीमा निर्भीक उत्तराधिकारी जन्मन नपाउने गरी बन्ध्याकरण नै गर्नु भयो।
६.  तपाइँहरुलाइ थाह छ तपाइहरुका गुटवाद र पार्टीमा एकाधिकार कायम गर्ने नव समान्तवादले कति राम्रा उन्नत शिक्षित युवा पुस्ताको राजनीतिमा जीवन नास भयो?उनीहरू गरिब मात्र भएनन्, राजनीतिप्रति नै वितृष्णाका सिकार भए। अनि कतिले जीवन धान्न ठगी गर्न र बाउन्सर बन्नुपर्ने भयो। यी उर्वर दिमाग ध्वस्त पारेर आज तपाइहरु यहाँ आइपुग्दा के हालत भयो देशको?
७. झोले र दोग्ला बुद्धिजीवीलाई काखमा च्यापेर, आफ्नो स्वाभिमानमा बाँच्नेलाई कुकुर लखेटे झैं लखेट्नु भयो। तिनै तपाइहरुका चम्चा आज ठाडो हात लगाएर तपाईँको घर जल्दा ताली पिट्दै छन्। निस्वार्थ, देशभक्त र विज्ञ कर्मचारीको हुर्मत लिएको थाह छ? कस कसलाई राजदूत, भिसी, डिन, आयोगका अध्यक्ष बनाउनु भएन! कहाँ पुर्‍याए तिनले आज विश्वविद्यालय ! बिचार तपाइहरु, खोइ ती मान्छे आज तपाइका बेहालका दिनमा?
८. तपाइहरु त “रेसमका नयाँ लुगा लगाउन नाङ्गो महाराजा” को शैली र प्रवृत्तिमा मुग्ध रहनु भयो, एक वर्ष अगाडि देखि भइरहेको यो घटनाको कुनै सुइकाे नै पाउनु भएन।
९. अतः अब युवापुस्तालाई जिम्मा दिनुहोस्। तपाइहरुका कुनै पार्टी कुनै भन्दा कुनै कम छैनन्, नेताको सामन्तीपन निर्माणमा। तर तंपाइहरुले आज बिगारेका ती पार्टी इतिहासका धरोहर हुन, जनताको त्यागले निर्माण गरेका।
१०. अब देशले नयाँ नेतृत्वको निर्माण गर्नुपर्छ जसले विज्ञान, उत्पादन र स्वरोजगार निर्माण गर्ने शिक्षा, राष्ट्रिय सुरक्षा र जनताको आयआर्जन निर्माण गर्ने अर्थतन्त्र, विदेशी मित्रहरू सँग समान सहयोग र समान दुरी कायम गर्ने विदेश नीति, भारत सँगकाे सांस्कृतिक समिपता र चीन सँगको आर्थिक विकासको सहकार्यको कूटनैतिक संस्कृति, विदेशी सहायताको दुर्ब्यसनबाट मुक्त भई उत्पादनमा स्वनिर्भरता, र युवाहरूद्वारा डिजिटल क्रान्तिको वातावरण, पर्यावरणीय ब्रिगेड बनाइ जङ्गल र कृषिको योगद्वारा राष्ट्रिय आम्दानी निर्माण र वातावरणको संरक्षण, र राष्ट्रिय उत्पादनका लागि उत्पादन ब्रिगेड बनाइ देशलाई अगाडी लानुपर्छ। निकम्मा भ्रष्ट कर्मचारीतन्त्र जो शासनमा बसेर देश विरोधी काम गर्छ त्यसको पुनर्संरचना गर्नुपर्छ। आफू देशमा बसेर भ्रष्टाचार गर्ने र छोराछोरी विदेशका नागरिक बनाउनेको सम्पत्ति जाँच हुनै पर्छ।भ्रष्टाचार राजनीति दलमा बिचार र नैतिकताको राजनीति संस्कारको पुनर्जागरण भएपछि आफैँ ठिकठाक हुन्छ। अब युवाहरूले आविष्कार र डिजिटल क्रान्तिमा लाग्नुपर्छ । बौद्धिकहरूको नेतृत्वमा युवाहरूले लोकतन्त्रलाई “दल तन्त्रबाट झिकी नागरिक सर्वोच्चता” को मार्गबाट सामाजिक नागरीकतन्त्र संस्थापन तर्फ लाग्नुपर्छ।
attariya hospital