कञ्चनपुर – कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार नेपाल–भारत सीमा गड्डाचौकी स्थित ७ नम्बर पिल्लर नजिक नागरिक सहायता कक्ष स्थापना गरिएको जनाएको हो ।

भारतबाट स्वदेश फर्कने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक खडक बहादुर खत्रीले बताए ।

यसअघि गत बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका तथा महेन्द्रनगर बस पार्कमा सुरक्षाकर्मीहरूले संयुक्तरुपमा यात्रु सहायता कक्ष स्थापना गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले जिल्लाका अन्य बजार तथा सीमा क्षेत्रमा समेत नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम आइतबार गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खत्रीले बताए ।
















