धनगढी– बझाङमा कारागारबाट भागेका कैदी प्रहरीको नियन्त्रणमा आउनबाट जोगिनका लागि भीरबाट हाम फाल्दा गम्भीर घाईते भएका छन । बझाङ कारागारबाट भागेका भेरी नगरपालिका–४ जाजरकोट का २८ वर्षीय रोहित सुनार (उदिप) गम्भीर घाईते भएका हुन् ।

प्रहरीको नियन्त्रणमा आउन बाट जोगिनका लागि उनले भीरबाट हाम फालेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाका अनुसार सुनारलाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने प्रयासका क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेका थिए । यस क्रममा उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ ।

उनी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका सुनारलाई हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने भएको प्रहरीले जनाएको छ । सुनारसँगै भागेका अर्का कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । पुनमाथि पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा रहेको छ ।

















