धनगढी– बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका– ५ भक्तपुर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा गाउँपालिकाको वडा नं. ४ उपरकोटका विकास सिँहको मृत्यु भएको हो ।

दुर्घटनामा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते हुनेमा सोही गाउँपालिका–४ का ३० वर्षीय खगेन्द्र खत्री, सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल रहेको प्रहरीले बताएको छ । घाइतेहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

















