कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका बाढी पीडितले बर्सेनि बाढीका कारण विस्थापित हुनु परेकाले तटबन्ध निर्माणको माग गरे पनि सरकारले चामलमा भुल्याउने गरेको गुनासो गरेका छन् । गत साता जोगबुडा नदीमा आएको बाढीले विस्थापित भएका स्थानीयले राहतले दिगो समाधान नहुने भन्दै नदीमा तटबन्ध निर्माण गरिदिन माग गरेका हुन ।
‘पानी पर्ने बित्तिकै हामीलाई बाढीको त्रास हुन्छ, जहिल्यै विस्थापित हुने नियति कहिलेसम्म ?’ दोधारा चाँदनी–८ की कमला खडकाले भनिन्, ‘एक बोरा राहत दिएर भुल्याउने काम भइरहेको छ, अब हामीलाई राहत होइन जोगबुडा नदीमा पक्की तटबन्ध चाहियो ।’

गत साता जोगबुडा नदीमा आएको बाढीले सुरन्दरनरगका २५ परिवार विस्थापित भएका थिए । यो पटक मात्रै होइन गत वर्ष असार पहिलो साताको भीषण वर्षापछि आएको बाढीले सुन्दरनगर बस्ती पूरै डुबानमा परेको थियो । त्यसअघिका वर्ष पनि यो बस्तीले डुबानको पीडा बेहोर्दै आएको छ । ‘पानी पर्न थालेपछि छाता ओढेर छतमा बस्नुपर्छ, जोगबुडामा पानी बढ्न थालेपछि बालबच्चा काखी च्यापेर भाग्नुपर्छ,’ सुन्दरनगरकी यमुना मगरले भनिन्, ‘विद्यालयमा बस्दा एक/दुई पोका दाल, चामल दिन्छन्, अब हामीलाई त्यो दाल चामल चाहिँदैन पक्की तटबन्ध बनाइदिनुप-यो ।’ गत साताको बाढीले विस्थापित भएकी उनी तीन दिनपछि घर फर्किएकी थिइन् ।

बाढीले वडा नम्बर ८ को सुन्दरनगर सँगै दोधारा चाँदनी–३ पटेरा खल्ला, १० को शान्ति टोल र कुतियाकवर क्षेत्र डुबानमा पर्ने गरेको छ । यस वर्षको बाढीले सो क्षेत्रका ५२ घर डुबानमा परेका थिए ।
पूर्वतिर महाकाली र पश्चिमतिर जोगबुडा नदी भएका कारण दोधारा चाँदनीका बस्ती बर्खामा जहिल्यै डुबानमा पर्दै आएका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको चुनावमा हरेक उम्मेदवारले तटबन्ध निर्माणको एजेन्डा अघि सार्दै आए पनि चुनावपछि बिर्सिने गरेको स्थानीयको गुनासो छ ।
दोधारा चाँदनीको क्षेत्रमा जोगबुडा नदीको भाग करिब २० किलोमिटर पर्छ । त्यसमध्ये केही स्थानमा तटबन्ध निर्माण भएको छ । तर सुन्दरनगर, कञ्चनभोज र शान्ति टोललगायतका क्षेत्रमा तटबन्ध निर्माण भएको छैन । उक्त क्षेत्रमा तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दा अहिले नगरप्रमुखदेखि गृहमन्त्रीसम्म भेट्न पुगेका छन् । ‘हाम्रो माग भनेको जोगबुडाको किनारमा पक्की तटबन्ध हो,’ सुन्दरनगरका प्रेम रोकायाले भने, ‘तटबन्ध नबनेसम्म हामी सुरक्षित बस्न सक्ने अवस्था छैन, बाढीका बेला हामी त स्कुलमा जान्छौँ तर खाद्यान्नदेखि खेतीपाती सबै नोक्सान हुन्छ ।’
यस वर्ष पनि कुतियाकवरमा तटबन्ध निर्माणका लागि ५ करोड रुपैयाँ आएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ३ का अध्यक्ष हरिसिंह धनाडीले बताए । ‘पुरानो तटबन्ध पनि जीर्ण भइसकेको छ, कति बेला कुन ठाउँबाट फुट्छ थाहा छैन,’ प्रवक्ता धनाडीले भने, ‘अहिले माग धेरै उठेको छ, बजेट कुतिकवरका लागि मात्रै आएको छ, नगरपालिकाकै बजेटबाट तटबन्ध बनाउन सकिने अवस्था छैन ।’ उनका अनुसार बडुवाल टोलदेखि कुतियाकवरसम्म २७ किलोमिटरमा गुरुयोजना बनाएर तटबन्ध निर्माण आवश्यक देखिएको छ ।

















