खाेज्नुहाेस

डीडीसी अत्तरियामा २ महिनादेखि ताला, जुँगाको लडाइँले सम्झौता हुन कठिन

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा तालाबन्दी गरिएको २ महिना पुगेको छ । जेठ ८ गते स्थानीयले डीडीसी धनगढी सार्न नहुने भन्दै कार्यालय घेराउ गरेर डीडीसीको प्रशासनमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएको २ महिना बितिसक्दा पनि न अहिले सम्म आन्दोलनरत पक्ष सँग वार्ता भएको छ न डीडीसी आन्दोलनरत पक्षका माग पुरा गर्न तयार देखिएको  छ ।

सामान्यतया आन्दोलन हुँदा सम्बन्धित पक्षले वार्तामा बोलाउने, छलफल गर्ने गरिँदै आएको भए पनि यहाँ भने एक पक्षले अर्को पक्षलाई गलाउने रणनीति लिँदा ताला खुलाउन दोहोरो संवाद समेत हुन सकेको छैन ।

add everest academy
attariya hospital

स्थानीयले डीडीसी धनगढी सार्न नहुने एक सूत्रीय माग राख्दै लिखित प्रतिबद्धता माग गरिरहेका छन् । तर, डीडीसी भने अहिलेकै अवस्थामा प्रतिबद्धता जनाउन नसक्ने बताउँदै आएको छ । हाल डीडीसीले आन्दोलनकै बिच प्रशासनिक कार्यालय धनगढीमा राखेर काम गरिरहेको छ । डीडीसीले यसअघि नै धनगढी उपमहानगरपालिका सँग सम्झौता गरे अनुसार धनगढीको कनेरीमा प्रशासनिक कार्यालय राखेर काम गरिरहेको हो ।

दुवै पक्ष बिच जुँगाको लडाई हुँदा डीडीसीले आफ्नो पूर्व तयारी अनुसार प्रशासनिक कार्यालय भए पनि धनगढीमा सारेको छ भने स्थानीयले पनि माग पुरा नभएसम्म तालाबन्दी यथावत् राखेर सामान लग्न नदिने अडान लिएका छन् ।

navjiwan hospital

दुवै पक्ष टसमस नहुँदा अहिले मध्य बिन्दु खोज्नुपर्ने बहस सुरु भएको छ । मध्य बिन्दुका रूपमा डीडीसीको स्थायित्वको लागि जग्गा उपलब्ध नहुँदा सम्म प्रशासनिक काम धनगढीबाट गर्ने र कारखाना अत्तरियाबाट सञ्चालन गर्न गरी सम्झौता गर्ने तयारी गरिँदै छ ।

attariya technical collage

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले हाल डीडीसीका लागि जग्गा उपलब्ध नभएसम्मका लागि प्रशासनिक कार्यालय धनगढी राख्ने र कारखाना हालकै ठाउँमा रहने गरी छलफल भइरहेको बताए । तालाबन्दीकै बिच कार्यालय धनगढी सारिसकिएकाले दुवै पक्षलाई सहमतिमा ल्याउन मध्यमार्गका रूपमा अगाडि बढ्न खोजिएको उनले बताए ।

डीडीसी धनगढी सार्ने चर्चा पछि पुस १७ गते गोदावरी नगरपालिकाका प्रवक्ता भट्टको संयोजकत्वमै कार्यदल बनेको थियो । कार्यदले जग्गा खोजीका लागि छलफल गरिरहेकै बेला धनगढी सार्ने सम्झौता भएको कार्यालय प्रमुखले नै बताएपछि स्थानीय डीडीसी संरक्षण संघर्ष समिति गठन गरेर कार्यालयमा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुख निरञ्जन भट्टराइलाई एक घण्टा थुनेका थिए ।

कार्यालय प्रमुख निरञ्जन भट्टराईले अत्तरियामा तालाबन्दी भएकाले हाल केही पुराना सामान राखेर डीडीसीको प्रशासनिक काम धनगढीबाट सञ्चालन गरिरहेको बताए । उनले धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको जडीबुटी प्रशोधन केन्द्रको भवनमा कार्यालय राखेको बताए । उनले केन्द्रको निर्देशन अनुसार आफूले २/३ दिन देखि धनगढीमा प्रशासनिक कार्यालय राखेको बताए ।

अहिले दुई पक्ष बिच इगोको लडाइ हुँदा किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् भने कारखाना सञ्चालनमा पनि समस्या असर परेको छ । तालाबन्दी पछि डीडीसीलाई गोदावरी क्षेत्रकै ३ ठाउँमा जग्गा उपलब्ध गराउन सक्ने प्रतिवेदन गोदावरी नगरपालिकाले डीडीसीलाई बुझाएको थियो । नगरपालिकाले वडा नम्बर १ को वडा कार्यालय नजिक, खैराना र बास्कोटामा रहेको कुनै एक जग्गा छनोट गर्न भनेको थियो । तर, हालसम्म डीडीसीले कुन जग्गा उपयुक्त हुन्छ भन्ने बारेमा खबर नपठाएकाले प्रक्रिया अगाडि बढाउन समस्या भएको गोदावरी नगरपालिकाका प्रवक्ता भट्टले भनाइ छ ।

डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसी अत्तरियाबाट नसार्ने प्रतिबद्धता आउने बित्तिकै तालाबन्दी खोल्ने पुरानो अडान कायमै रहेको बताए । उनले कारखाना यतै राखेर प्रशासन कार्यालय धनगढीबाट सञ्चालन गर्ने विषयमा छलफल गरेर निर्णय लिन सकिने बताए ।