अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुने स्वास्थ्य युवा महोत्सवलाई स्वास्थ्य सचेतना र परीक्षणमा मात्र सीमित नराखी सामाजिक स्वास्थ्य, मानसिक परामर्श, युवा उत्प्रेरणा तथा उद्यमशीलतासँग जोड्नुपर्ने सुझाव दिइएको छ । महोत्सवको तयारीस्वरूप सोमबार अत्तरियामा विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलमा सहभागीहरूले कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।
छलफलमा अधिवक्ता शेरबहादुर विष्टले महोत्सवको दायरा फराकिलो बनाउनुपर्ने बताए । स्वास्थ्यसँगै सामाजिक स्वास्थ्य र सामाजिक समस्याका विषयलाई पनि कार्यक्रममा समेट्नुपर्ने उल्लेख गर्दै उनले यस्ता कार्यक्रम प्रभावकारी बनाउन राज्यको भूमिका महत्वपूर्ण हुने बताए । उनले आफू आवद्ध जय गोदावरीका तर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पीएफए क्लवका सस्थापक अध्यक्ष सन्तोष भट्टले महोत्सवमा खेलाडीहरूलाई पनि जोड्नुपर्ने बताए । खेलाडीको सहभागिता सुनिश्चित गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले कार्यक्रम सञ्चालनका क्रममा आर्थिक व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
बाल सञ्जाल कञ्चनपुरका अध्यक्ष टेक राज जोशी बालबालिका सम्बन्धी भएका गतिविधिलाई महोत्सवमा प्रस्तुत गर्न सकिने बताए । बालबालिकालाई सचेतना कार्यक्रममा सहभागी गराउन सडक नाटकजस्ता गतिविधि प्रभावकारी हुने उल्लेख गर्दै उनले आफ्नो सञ्जालमा करिब २ हजार ५०० बालबालिका रहेको जानकारी दिए ।
अत्तरिया खानेपानी तथा सरसफाइ संस्थाका महासचिव धर्म कुँवरले महोत्सव मानसिक स्वास्थ्य तथा मनोपरामर्शका दृष्टिले महत्वपूर्ण हुने बताए । कार्यक्रम सफल बनाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

लायन्स क्लब अफ अत्तरिया सिटी अध्यक्ष यज्ञराज हमालले चेम्बर अफ कमर्सले राज्यले गर्नुपर्ने काममा समेत सहयोग गरिरहेको उल्लेख गर्दै महोत्सवलाई सबै संघसंस्था मिलेर सफल बनाउनुपर्ने बताए । विद्यालय तथा कलेजलाई समेत कार्यक्रममा जोड्न सके प्रभावकारिता अझ बढ्ने उनको सुझाव थियो । उनले कार्यक्रमको व्यवस्थापनसँगै मञ्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स कैलालीका बरिष्ठ उपाध्यक्ष स्माइल चौधरीले सबैको सहकार्यमा महोत्सव सञ्चालन हुने बताए । महोत्सवमा व्यक्तिगत परामर्शका लागि बन्द सत्र तथा सामूहिक छलफलका लागि खुला सत्र राख्ने योजना रहेको उनले जानकारी दिए ।
युवा प्रतिनिधि सुमन चौधरीले युवाले घरपरिवार तथा समाजमा भोगिरहेका समस्यालाई सम्बोधन गर्न उत्प्रेरणामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले युवालाई लक्षित गरी एकदिने उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्न सुझाव दिए ।
युवा चेम्बरका अध्यक्ष जय धामीले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल बजार प्रवद्र्धन, उत्प्रेरणा तथा युवा उद्यमशीलताका विषयलाई पनि महोत्सवमा समेट्नुपर्ने बताए । यस्ता विषयले युवालाई नयाँ सीप र अवसरबारे जानकारी दिन सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका अध्यक्ष विनोद मल्लले सामाजिक स्वास्थ्यका विषयमा परामर्श दिन सक्ने व्यक्तिहरूलाई समेत कार्यक्रममा जोड्नुपर्ने बताए । उनले परामर्शका विषयमा सम्बन्धित विज्ञसँग सल्लाह लिएर प्राप्त सुझावअनुसार कार्यक्रमलाई अघि बढाइने जानकारी दिए ।
अत्तरियामा कार्तिक १३ देखि १८ गतेसम्म आयोजना हुने स्वास्थ्य युवा महोत्सव समृद्ध सुदूरपश्चिम अभियान तथा नेपाल चेम्बर अफ कमर्सका प्रदेश, जिल्ला र नगर तहको सहकार्यमा सञ्चालन हुन लागेको हो । महोत्सवमा स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सकसँग संवाद, स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य, पोषण, नसर्ने रोग तथा जीवनशैलीसम्बन्धी विषय समेटिने आयोजकले जनाएको छ ।
महोत्सवलाई प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र, स्वास्थ्य संस्था, विद्यालय, कलेज, युवा समूह र सामाजिक संघसंस्थाको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।


















