अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकका मोटरेबल पुल निर्माणको काम सुस्त गतिमा भईरहेको छ । तीन मध्ये एक पुल केही दिन अघि मात्रै निर्माण सम्पन्न भए पनि अझै २ पुल निर्माणको काम बाँकी रहेको छ । हाल गेटामा रहेको सुनिखोला पुल निर्माणको काम सकिए पनि गेटामै रहेको मनहरा पुल र धनगढीमा रहेको मोहना पुलको काम भने पुरा हुन सकेको छैन । दुवै पुल निर्माणका लागि ४ वर्ष अघि नै ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि २ पटक म्याद थप गरिसकिएको छ ।
मोहना अत्तरिया ६ लेन सडकको जिरो पाइन्टमै निर्माण भइरहेको मोहना पुल निर्माणका लागि २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो । २०८१ जेठमा सम्पन्न गर्नुपर्ने उक्त पुलका लागि पहिलो पटक २०८२ वैशाख सम्म म्याद थप गरिएकोमा उक्त अवधिमा पनि काम सम्पन्न नहुँदा २०८२ चैत्र सम्म म्याद थप गरेर काम भइरहेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर सन्तोष चन्दले बताए । उनका अनुसार हाल पुलको ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।



मोहना पुल कुन कार्यालयले हेर्ने भन्ने मै केही समय विवाद हुँदा पुल निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । ‘हुलाकीमा दिने की महाकाली कार्यालयले हेर्नेमा विवाद हुँदा २–३ महिना काम हुन सकेन’ उनले भने ‘मोहनामा भन्सारका घर हटाउन नसकिँदा पनि ढिलाइ भएको छ ।’ मोहना पुल निर्माणका लागि १३ करोड ३६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

६ लेन सडक अन्तरगतको गेटामा रहेको मनहरा पुल निर्माणका लागि उच्चकोटी–समिदेव–राजेन्द्र जेभी सँग ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक २०८२ भाद्र सम्म काम सक्ने गरी सम्झौता गरिएको उक्त पुलको पनि ५५ प्रतिशतकै हाराहारीमा काम सम्पन्न भएको छ ।

९ करोड ५० लाख लागतको उक्त पुलको निर्माणका लागि भने बजेट अभाव हुँदा काम सम्पन्न हुन नसकेको इन्जिनियर चन्दले बताए । उनले बजेट नहुँदा काम सम्पन्न भएको १ करोड बराबरको रुपैयाँ भुक्तानी गर्न नसकिएको बताए । चालु आर्थिक वर्षमा भने पुलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले उनले बताए ।
३ करोड ७७ लाखको लागत रहेको सुनिखोला पुलको काम भने सम्पन्न भएको छ । राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको उक्त पुल दोस्रो पटक म्याद थप गरेर सम्पन्न गरिएको हो । उक्त पुल निर्माण भएपछि पुरानो पुललाई अत्तरियाबाट धनगढी जान एकतर्फी पुलका रूपमा प्रयोग गर्न थालिएको छ भने नयाँ पुललाई धनगढीबाट अत्तरिया आउन प्रयोग गर्न थालिएको छ । जसले गर्दा यसअघि एउटै पुलमा हुने सवारी चाप कम भएको छ ।

मोहना–अत्तरिया १४ दशमलव २ किलोमिटर ६ लेन सडक कालोपत्रेको काम सकिएको ४ वर्ष पुग्ने लाग्दा २ पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा समस्या हुने गरेको छ । विशेष गरेर ६ लेन सडकमा रहेको २ लेनको मनहरा पुलमा सवारी चाप बढी हुँदा पिक आवरमा आवतजावतमा समस्या हुने गरेको छ । करिब १ अर्ब ६५ करोडको लागतको मोहना अत्तरिया सडक कालोपत्रे गर्न छुटै कार्यालय स्थापन गरी निर्माण गरिएको भए पनि पुल निर्माणको काम भने कञ्चनपुरमा रहेको महाकाली पुल आयोजना कार्यालयबाट हुँदै आएको छ ।

















