खाेज्नुहाेस

५२ वर्षको उमेरमा ४ कक्षामा पढ्दै पार्वती, एसइई पास गर्ने धोको

Image

हेमन्त राज जोशी (बाजे)/गौरीगंगा – वरिपरि स–साना बालबालिकामा बिचमा बस्छिन् उमेरले ५२ कटेकी पार्वती कडायत । झट्ट हेर्दा  उनी ती बालबालिकालाई सिकाउने शिक्षक जस्तै लाग्छिन् । तर, उनी शिक्षक नभएर तीनै बालबालिका सँग कक्षा ४ मा पढ्दै गरेकी विद्यार्थी हुन । कैलालीको गौरीगंगा नगरपालिका – ४ बनबेहडामा रहेको अमर माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी उनी हाल कक्षा ४ मा पुगेकी छिन ।

उनी अहिले आफ्ना नाति सँगै विद्यालयमा बढ्दै आएकी छिन । ‘नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा हजुरलाई एक, दुई तीन त आउँदैन मलाई के पढ्न भन्नुहुन्छ भनेर जवाफ फर्काए पछि मलाई पनि पढ्नुपर्छ भन्ने लाग्यो’ उनले भनिन् ‘त्यसपछि म पनि विद्यालयमा भर्ना भए ।’

attariya hospital

उनले सानो हुँदा पढ्न नपाएपछि पछि नपढेकै कारण विभिन्न समस्या भोग्न थालेपछि उमेरको वास्ता नगरी विद्यालय भर्ना भएको बताइन् । उनले भनिन ‘छोराको खुट्टामा चोट लागेपछि औषधि उपचारको सिलसिलामा अस्पताल गएको थिए । त्यति बेला पनि नपढेका कारण औषधी किन्न तथा ओहोरदोहोरमा साह्रै समस्या झेल्नुपरेको थियो । त्यही बेला परेको अप्ठ्यारो र आफू नपढेको हीनताबोध भयो र, पढ्नुपर्छ भन्ने सोच आयो ।’

उनले ५ वर्षको नातिले लगाएको वचन र उपचार गर्न जाँदा अस्पतालमा झेल्नु परेको समस्याले पढ्नको लागि स्कुलको कक्षाकोठा सम्म पु-याएको बताइन् ।

सात वर्ष अघि श्रीमान् गुमाएकी उनी अहिले घरको काम सकेर अन्य विद्यार्थी सरह झोला बोकेर अध्ययनका लागि जाने गरेकी छिन । उनको लगातार पास भएर एसइई पास गर्ने धोको छ । उनले अङ्ग्रेजी सिक्न केही समस्या भए पनि स्कुल पढ्न गए देखि आफूले जानेको कुरा अरूलाई सिकाउन र नजानेका कुरा अरूबाट सिक्न पाउँदा निकै खुसी लाग्ने गरेको बताइन् ।

उनले सानो मै आमाको मृत्यु भएको र, त्यसपछि बिहे भएकाले पढ्न नपाएको बताइन् । ‘सानो छँदा आमाको मृत्यु भयो । पढ्ने उमेरमा चुलोचौको, गोठालो जानेमा बित्यो । सानो उमेर मै बिहे पनि भएपछि पढ्न पाएन’ उनले भनिन् ‘बिहेपछि घर व्यवहारले च्याप्यो । छोराछोरीलाई हुर्काउन, पढाउन मै समय बित्यो । अहिले छोराछोरी हुर्के, जागिरे भए अनि पढ्ने पढ्ने सपना पुरा गर्दै छु ।’ उनले पढ्ने उमेर गयो भनेर बस्नु भन्दा पढ्नका लागि उमेरले छेक्दैन भन्ने लागेर पढाई सुरु गरेको बताइन् ।

navjiwan hospital

पार्वतीलाई कक्षामा सबै जनाले हजुर आमा भनेर सम्बोधन गर्छन् । कक्षा बाहिर भित्र ओहोर दोहोर गर्दा र पानी खान, शौचालय जान अन्य बिद्यार्थीहरुले हजुर आमा जाँउ भनेर सोधेर जान्छन् । उनको नम्रता तथा मिलनसार व्यवहारले कक्षाकोठा पुरै शान्त देखिन्छ ।

उनले पढ्न थालेपछि दैनिक जीवनमा धेरै सहज भएको बताइन् । उनले भनिन् ‘ विभिन्न ठाउँमा जाँदा लेखेको कुरा चिन्न सक्ने भएकाले सहज भएको छ । मैले मेरा रुचिका धार्मिक किताब पनि बढ्न पाएकी छु’ उनले भनिन् ‘जागिर खाउँला भनेर पढेकी होइन । दैनिक जीवन सहज बनाउन पढिरहेकी छु ।’

पार्वतीका कक्षा शिक्षक नवीन विष्टले उनी पढाइमा राम्रो विद्यार्थी भएको बताए । ‘वहाँमा पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता छ । वहाँले  कक्षा २ र ३ मा राम्रै अङ्क ल्याएर पास हुनुभएको थियो’ उनले भने ‘कक्षामा उहाँ शिक्षकले पढाएको राम्रै सँग बुझ्नुहुन्छ, दिएको गृहकार्य पनि सबै गरेर आउनु हुन्छ । अक्षर पनि निकै सफा छन् उहाँको ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवरले पार्वतीलाई सम्मानका साथ विद्यालयका शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरिएको बताए । सामान्यतया नाति–नातिनी स्याहारेर बस्ने उमेरमा पनि पढ्ने इच्छा भए पढाइलाई उमेरले छेक्दैन भन्ने कुरालाई उनले साबित गरिदिएकी छिन ।

–हेमन्त राज जोशी (बाजे) अत्तरिया अनलाइनका अतिथि रिपोर्टर हुन । उनी सामाजिक मुद्दामा कलम चलाउँदै आएका छन् ।