अत्तरिया– पछिल्लो समय कृषकहरुले खेतबारीमा प्राङ्गारिक मलको प्रयोग गर्न थालेका छन् । उनीहरुले घरमै मल उत्पादन गरी खेतबारीमा प्रयोग गर्न थालेका हुन् । केहीले व्यावसायिक रुपमै मल उत्पादन गरेर आम्दानी लिइरहेका छन् भने धेरैजसो किसान आफ्नै खेतबारीका लागि मल उत्पादन गरिरहेका छन् ।
कैलालीको टीकापुर नगरपालिका – १ ब्लक नम्बर १८ बस्ने ४३ वर्षीय शिव थापा विगत सात वर्षदेखि गँड्यौला मल उत्पादन गरिरहेका छन् । उनको घरमा उत्पादित मल सुदूरपश्चिमका नौ ओटै जिल्लासहित बर्दियासम्म पुग्ने गरेको छ । ‘म सुदूरपश्चिमको गँड्यौला मल उत्पादनको स्रोत व्यक्ति हुँ, मैले सुदूरपश्चिमका ९ ओटा जिल्ला र बर्दियासम्म मल दिन्छुँ १० ओटा जिल्लालाई,’ उनी भन्छन्, ‘खाद मल भैरहवा, इण्डिया पाइन्छ भने गँड्यौला मलहरु सुदूरपश्चिममा पाइन्छ भन्ने एउटा गँड्यौला मलको हब क्षेत्र बनाउन खोज्या हो मैले, तर हिलोमाटोसँग सबै मान्छे खेल्न रुचाउँदैनन्, २४ घण्टामा परिणाम खोज्छन्, त्यल्ले गर्दाखेरी यहाँ केही असहजता छन् अब ।’


थापाले एक वर्षमा दुई सय ५० क्विन्टल मल बेच्दछन् । उनले गँड्यौला मल प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बेच्ने गरेका छन् । मलबाट मात्रै वार्षिक सात लाख रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन् । ‘मैले वर्षमा त्यही ढाई सय क्विन्टल मल बनाउँछुँ, यो मेरो सिजन हो अहिले त बुकिङ्ग छ पूरा,’ उनले भने, ‘यो मल विशेषगरी नर्सरीबाला लैजान्छन्, गमला खेतीबाला ड्रागन खेती धान गहुँ तोरीका लागि लैजान्छन् ।’
थापाले आलुमा लाग्ने गरेको सुलसुले गँड्यौला मलको प्रयोग गरे नलाग्ने बताए । उनी भन्छन्, ‘आलुमा जो सुुलसुले लाग्छ हामीले बनाएको गँड्यौला मल हाले त्यो लाग्दैन, कारण के छ भने ९० दिनसम्म राखिएको गाईको गहुँतलाई मलमा मिसाइदिन्छौँ, गाईको गहुँत आफैमा जैविक विषादी भएकोले बालीमा असर पार्ने किराहरुले असर गर्न पाउँदैनन् ।’

विषादीरहित सागतरकारी खान र खुवाउनका लागि गँड्यौला मल उत्पादन थालेको उनी बताउँछन् । किसानहरुलाई बजारको मल नकिनी घरमै मल उत्पादन गरी आम्दानी लिन र स्वस्थ खाना खाएर स्वस्थ रहन उत्प्रेरित गर्नका लागि आफूले गँड्यौला मल बनाउन थालेको उनी बताउँछन् । ‘फोहोरलाई मोहरमा बदल्ने उद्देश्य अनुरुप मैले गँड्यौला मललाई मलमूत्र प्रशोधन गरी माटोको उर्वराशक्ति बचाइराख्ने अनि अर्गानिक विषादीरहित खेतीतिर आफू पनि लाग्ने र अरुलाई पनि लाग्न हौसला दिन्या भनी सुरु गरेको हुँ, अब धेरै किसानले गाईवस्तु पाल्न छोडे, खादमलहरु विषादीहरु बढी प्रयोग हुन थाल्यो, माटोको जैविक शक्ति मर्न थाल्यो, यल्ले मानवीय स्वास्थ्यमा ठुलो असर पर्ने भएकाले गँड्यौला मल बनाउन सुरु गरेको हुँ ।’

उनी सुदूरपश्चिमले देशैभरी गँड्यौला मल फैलाओस् भन्ने आफूले चाहेको बताउँछन् । चाँडोभन्दा चाँडो नतिजा खोज्ने बानीले किसानहरु विषादी प्रयोग गर्न नछोडिरहेका उनी बताउँछन् । ‘राम्रो कुरा स्थापित हुन समय लाग्न्या रैछ, खादमल हाल्छन् एकैचोटी हुरुक्क हुन्छ, तर यो विस्तारै लाग्छ ।’ उनी प्राङ्गारिक मल बनाउने राज्यको पोलिसी भएपनि कृषक नजिक राज्य अझै पुग्न नसकेको बताउँछन् । ‘प्राङ्गारिक मल बनाउन्या राज्यको पोलिसी त छ तर राज्य अझै हामीसँग टच हुनसक्या छैन, नक्कली किसानहरु यो देशमा अनुदान लोन पाउने तर वास्तविक जो गरिखाने किसान छ त्यो ठाउँमा अझै राज्यको ध्यान पुग्न सक्या छैन,’ उनले भने ।
कैलालीकै गोदावरी नगरपालिका-४ बाँस्कोटाकी फूलमाया चौधरीले पनि गँड्यौला मल र झोलमल उत्पादन गर्छिन् । खेतबारीमा प्राङ्गारिक मलको प्रयोग राम्रो भन्ने थाहा पाएपछि गँड्यौला मल र झोलमल बनाउन थालेको उनी बताउँछिन् । ‘मैले गएको चैतबाट गँड्यौला मल र झोलमल बनाउन सुरु गरेँ, अहिले बेच्नलाई त बनाउन सकिया छैन आफूलाई पुग्नेगरी बनाछुँ,’ उनले भनिन्, ‘स्वास्थ्यलाई पनि राम्रो सागतरकारी पनि राम्रो फल्छ भन्ने थाहा पाएपछि घरमै मल बनाएँ ।’ उनले आफूले लगाएको तरकारीमा गँड्यौला मल र झोलमलको प्रयोग गर्दा राम्रो उत्पादन भएको पनि बताइन् ।
बाँस्कोटाकै शान्ति चौधरीले पनि गँड्यौला मल र झोलमल बनाउँछिन् । उनले पनि मल बनाउन थालेको धेरै भएको छैन । एक वर्षदेखि झोलमल बनाइरहेकी उनले अहिले गँड्यौला मल पनि बनाउन थालेकी हुन् । छ कट्ठा जमिनमा तरकारीखेती गरिरहेकी उनले आफ्नो खेतबारीलाई पुग्नेगरी मात्रै मल बनाएको बताइन् । ‘झोलमल बनाउन लागेको त एक वर्ष भयो, अहिले गँड्यौला मल पनि बनाछुँ, धेरै बनाउन त सकिएन आफ्नो खेतबारीलाई पुग्नेगरी छ भनौँ,’ उनले भनिन्, ‘यो मल स्वास्थ्यका लागि राम्रो भन्छन्, सागपातमा राम्रै मल हाल्नुपर्यो, रोग लाग्ने मल त हाल्न भएन,’ उनले भनिन् ।
गोदावरीकै अनिता चौधरीले पनि आफ्नो खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेकी छन् । उनले पनि झोलमल र गँड्यौला मल उत्पादन गरिरहेकी छन् । यो मल खेतबारी र मानव स्वास्थ्यका लागि फाइदाजनक भएकाले आगामी दिनमा बेच्ने गरी समेत मल उत्पादन गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले त आफ्नै लागि मात्र छ मल, धेरै बनाउन सकिएको छैन, तर विस्तारै बेच्ने गरी मल बनाउने सोचेकी छुँ ।’
यसरी किसानहरु विस्तारै सचेत हुँदै प्राङ्गारिक मल प्रयोमा ध्यान दिन थालेका देखिन्छन् । बजारको रासायनिक मल प्रयोग गर्दै आएका किसान विस्तारै आफूहरुलाई अर्गानिक उत्पादनतिर डोर्याउँदै लगिरहेका छन् ।
















