अत्तरिया- कैलालीका किसानहरु यतिबेला धान भित्र्याउनमा व्यस्त छन् । असार-साउनमा रोपेर कात्तिकमा पाक्ने धानबाली भित्र्याउन किसानहरु व्यस्त भएका हुन् । अहिले किसानहरुलाई धान चुट्ने चटारो छ । दसैँ सकिएपछि किसानहरूलाई धान भित्र्याउने चटारो परेको हो ।
कैलालीको गोदावरी नगरपालिकाका किसानहरु काटिसकेको धान थ्रेसर गरिरहेका छन् । गोदावरीका किसान अहिले खेतमा काटिसकिएको धानका मुठा बाँधिरहेका, खेतबाट धान बोकिरहेका, धान चुटिरहेको अवस्थामा भेटिन्छन् । केही किसान हातले नै धान चुटिरहेका देखिन्छन् भने केहीले थ्रेसर मेसिन लगाएका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ की रिता विक धान थ्रेसर गरिरहेकी थिइन् । उनी पहिला हातले नै धान चुट्ने गरेकामा अहिले भने थ्रेसर लाउन थालेको बताउँछिन् । ‘अब हातले चुटेर सकिन्न, के गर्नु थ्रेसर लाउनैपर्यो,’ उनले भनिन् ।


रिताका तीन जना छोरा र तीन बुहारी छन् । रोजगारीका लागि भारत गएका छोरा बुहारीहरु उतै बस्न थालेपछि हातले धान चुट्ने मान्छे कोही नहुँदा थ्रेसर लगाउन परेको उनी सुनाउँछिन् । ‘कान्छो छोरो र बुहारी मात्रै घर छन्, चार जना छोराबुहारी त इण्डियामै बस्छन्, के गर्नु घर खर्च चलाउन काम गर्नै पर्यो, यो धानले खानलाई पुग्दैन,’ उनी भन्छिन्, ‘घर मान्छे छैनन्, एक छोरो एक बुहारी र म मात्रै छौँ, तीन जनाले मात्रै सकिन्न ।’ पहिला पहिला गाउँघरमा हातले नै धान चुट्ने गरिएको बताउँदै उनी उतिबेला धान चुट्न निकै रमाइलो हुने गरेको सुनाउँछिन् ।

‘पहिला त भकाभक हातैले धान चुट्थ्यौँ, गाउँमा एकअर्काको धान चुट्न गइन्थ्यो, धेरै जना जम्मा हुँदा हाँसो मजाक रमाइलो सबै हुन्थ्यो, रातिको समयमा धान चुट्थ्यौँ साह्रै रमाइलो हुन्थ्यो नि, ती कुरा सम्झेर बस्ने मात्रै हो अब, आजकाल त मेसिन आछ, सबैले मेसिनै लगाउँछन्, हामी नि त्यही गर्छौँ, अब एक्लै प्याट्ट प्याट्ट हातले हानेर सकिन्न,’ उनी हाँस्दै भन्छिन् । धान चुट्ने थ्रेसर मेसिनले हातले चुट्नुभन्दा सहज भने भएको उनी बताउँछिन् । ‘मेसिनले सजिलो त भाछ, अब यो छिनको छिनमै सक्नेभो, हातले चुट्न त चार÷पाँच दिन लाग्थ्यो हामीलाई, अब त हातले धान चुट्न सकिँदा नि सकिन्न, यही मेसिनै ठिक छ,’ उनले भनिन् ।


गोदावरी-२ कै तेघरीकी नारु बोहरा पनि बुहारी खिमा र छिमेकी सीता भूलको सहयोगमा धान बताउँदै थिइन् । उनीहरु घरको आँगनमा धान बताइरहेका थिए । नारुले धान भित्र्याउने क्रममै धानबाट भुस छुट्याएर राख्दा सहज हुने बताइन् । उनी भन्छिन्, ‘भुस भनेको धानमा भएको फोहोर जस्तै नै हो, फोहोर घरभित्र किन राख्ने ?, त्यही भएर पहिल्यै यसरी बताएर अनि मात्र धान भित्र लैजान्छौँ ।’ उनीहरु हातमा कपडा समातेर धान बताइरहेका थिए । दुई जनाले कपडाको दुईतिर समातेर हल्लाएर हावा दिने र एक जनाले नाङ्लोले धान बताउने गरिरहेका थिए ।

धान बताउनका लागि पनि मेसिन (पङ्खा) आइसकेको भए पनि आफूहरुसँग मेसिन नहुँदा हातैले धान बताइरहेको नारुले बताइन् । ‘हामीसँग धान बताउने पङ्खा छैन, धान पनि अलिअलि काट्दै बोक्दै चुट्दै यसरी बताएर राखिराछौँ, धान कमै छ गारो छैन,’ उनले भनिन् । उनकी बुहारी खिमा भन्छिन्, ‘हाम्रो यता त खल्ला भएर बालुवा मात्र छ, धान खासै राम्रो फल्दैन, सागपात पनि त्यस्तै हो, थोरै धान छ, हातैले चुट्ने बताउने राख्ने गरिराछौँ ।’

गोदावरीकी चन्द्रा भट्ट पनि हातले धान चुटिरहेकी थिइन् । आँगनमा धानका कुनिउँहरु थिए । उनी एक कुनिउँ जति धान हातैले चुटिरहेकी थिइन् । बर्खामा हातले चुटेको धानको पराल मात्र काम लाग्ने भन्दै उनी हातैले धान चुटिरहेकी थिइन् । ‘यो पराल बर्खामा भिज्दैन, त्यही भएर हातैले चुटिराछौँ, सबै त काँ सकिन्छ हातले,’ उनले हाँस्दै भनिन्, ‘बाँकी सबै धान थ्रेसर लाउने हो ।’ उनकी दिदी राधिका पाठकले वर्षा हुँदा हातले चुटेको पराल नभिज्ने नकुहिने हुँदा थोरै धान हातैले चुट्न लागिएको बताइन् । ‘यो एक बिघामा लगाइएको धान हो, थोरै धान हातैले चुटिराछौँ, बाँकी सबै धान थ्रेसर लाउने हो,’ उनी भन्छिन्, ‘हातले चुटेको धानको पराल बर्खामा काम लाग्छ, यसको अलग्गै कुनिउँ बनाएर राख्छौँ, थ्रेसर लगाएको धानको परालमा पानी पस्छ यसमा पस्दैन, थ्रेसर लगाएको पराल बर्खा नलागुञ्जेल गाईभैँसीलाई खुवाउँछौँ, बर्खा लागेसी हातले चुटेको धानको पराल खुवाउँछौँ, यस्तो परालको कुनिउँमा बर्खाको बेला पानी पस्दैन ।’
कैलालीमा यो वर्ष ६७ हजार चार सय ६३ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीका अनुसार कैलालीका किसानहरुले धान काटिसकेका छन् तर, धान भित्र्याइसकेका भने छैनन् । उनी धेरैजसो किसानहरुको धान काटेर खेतमै भएको र थ्रेसर गर्न बाँकी नै रहेको बताउँछन् । ‘भजनी, जोशीपुरतिर अलि अलि बाँकी छ धान काट्न, अरुतिर त लगभग काटिसकेका छन्, त्यही पाँच÷सात प्रतिशत जति बाँकी होला धान काट्न,’ उनले भने, ‘धान भित्र्याइसकेका भने छैनन्, धेरै किसानहरुको काटेको धान खेतमै छ, खेतबाट काटेको धान बोक्ने, थ्रेसर गर्ने गरिराछन् किसानहरुले, तिहारसम्म सबैले भित्र्याइसक्छन् ।’
















