अत्तरिया – कैलालीमा रोजगारीका अवसर तथा चुनौतीहरुका बारेमा छलफल छलफल गरिएको छ । विकासका लागि युवा ऐक्यवद्धता (यार्ड) नेपालको समन्वयमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै जिल्लाको गोदावरी नगरपालिकाले रोजगारीका अवसर तथा चुनौतीबारे रोजगारदाताहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा गोदावरी नगरभित्र रोजगारी सृजना गर्ने विभिन्न क्षेत्रका रोजगारदाताहरुको सहभागिता रहेको थियो । उनिहरुले नगरपालिकाले प्रदान गर्ने विभिन्न किसिमका तालिमहरु रोजगारमुखी हुन जरुरी रहेको औल्याएका थिए । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले नगरले विगतका भन्दा केही फरक किसिमका तालिमहरु दिन थालेको भएपनि अझै पनि आवश्यकता अनुसारका तालिमहरुको खाचोँ रहेको बताए ।

‘विगतका भन्दा केही फरक तालिमहरु भएका छन, हिजोका दिनमा सिलाईकटाईका मात्रै तालिमहरु भैरहेका थिए, अहिले ति बजारमा छ्यापछ्याप्ती छन’ उनले भने ‘अबका दिनमा कम्प्युटर मर्मत, मोबाईल मर्मत तथा लेखा सम्बन्धीका तालिमहरुको आवश्यकता रहेको छ ।’ उनले लेखा सम्बन्धी दक्ष जनशक्ति सबैलाई आवश्यक हुने र दक्ष नहुँदा समस्या हुने गरेको बताए । उनले पछिल्लो समय युवाहरुले आफुले थोरै सिप सिक्ने वित्तिकै विदेश जाने गरेकाले पनि समस्या हुने गरेको बताए ।
गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले होटल व्यवसायका समस्याहरुका बारेमा कसैले पनि चासो नदेखाएको जस्तो महसुस भएको बताए । उनले कार्यक्रममा पनि होटल व्यवसायका समस्याहरुका बारेमा कसैले ध्यान नदिएको बताए । ‘होटल व्यवसायमा वेटर, कुक लगायतका व्यक्तिहरुको आवश्यकता पर्छ, सो सम्बन्धी तालिम पाएका दक्ष जनशक्ति भए हामीहरुलाई सहज हुन्छ’ उनले भने ‘तर स्थानिय तहहरुलाई त्यस्तो तालिम माग्दा उद्घोषण तालिम दिए, होटल व्यवसायीलाई वेटर, कुक चाहिएको हुन्छ तर उद्घोषण तालिम पाईयो ।’

एन प्याब्सन गोदावरीका सचिव देव राज भट्टले सुदूरपश्चिममा पर्यटन विकास अझै नभैसकेको बताए । उनले पर्यटन विकास नभएकै कारणले सुदूरपश्चिममा आतिथ्य सत्कारको बारेमा नै जानकारी नभएको बताए । उनले गोदावरी नगरक्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन सकिने गरी तालिमको व्यवस्थापन गर्न सके पनि रोजगारीका सम्भावनाहरु रहेको बताए ।
अर्का सहभागि एल एस वाटर ईण्डष्ट्रिजका फ्याक्ट्री म्यानेजर अनिल रावतले औद्योगिक क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति पाउन सबैभन्दा गाह्रो रहेको बताए । उद्योग नै कम भएको क्षेत्रमा पनि दक्ष जनशक्ति पाउन गाह्रो भैरहेकाले त्यस्ता दक्ष जनशक्ति उत्पादनका लागि पहल थालिनुपर्ने उनको भनाई छ ।
नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारीले रोजगारीका अवसरहरु भएपनि गुणस्तरिय जनशक्ति नभएकाले समस्या भैरहेको बताए । उनले मल्टि क्षेत्रमा काम गर्न सक्ने जनशक्ति भए रोजगारीका सम्भावनाहरु अथाह रहेको बताए । उनले तालिमहरु पर्याप्त दिईएपनि रोजगारमुखी भने नभएको गुनासो गरे । उनले आगामी दिनमा रोजगारमुखी तालिमतिर ध्यान दिन नगरपालिकालाई आग्रह गरे ।
प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्रीले व्यक्तिलाई स्वरोजगार बनाउन कृषि क्षेत्रमा ध्यान दिईनुपर्ने बताए । उनले रोजगारको अत्याधिक सम्भावना हुँदा पनि जनशक्ति नपाईनुको कारण श्रमिकप्रति सम्मान नहुनु नै रहेको बताए ।
उनले तालिमहरु यहाँको परम्परा, संस्कृति र माटो सुहाँउदो हुनुपर्ने बताए । ‘मोटर किन्न सक्ने मानिससँग पैसा नै छैन भने हामीलाई मोटर तालिम किन चाहियो ?, अहिले फ्लोरी कल्चरको बारेमा तालिम दिईएको छ तर यहाँ एक जना साहुको घरमा फ्लोरी कल्चरको बारी नै छैन भने त्यो तालिम लिएको मानिसले कहाँ गएर काम गर्ने ?’ उनले प्रश्न गरे । खत्रीले रोजगारी नै सृजना हुन नसक्ने तालिमको औचित्य नभएको बताए । उनले श्रमिक र कृषकको सम्मान गर्न सके रोजगारी र जनशक्तिको समस्या समाधान हुने बताए ।
नगरप्रमुख विरेन्द्र भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरि दत्त भट्ट, वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट, प्रशासकिय अधिकृत शिवराज भाट लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुलाई रोजगार संयोजक रोहित प्रसाद जोशी, यार्ड नेपालका प्रतिनिधि महेन्द्र शाही लगायतकाले प्रस्तुती दिएका थिए । नगरबासीहरुलाई रोजगारमुखी बनाउनका लागि नगरपालिकाले दिदै आएको छ । यद्दपी नगरले दिएका तालिमहरुले रोजगारी सृजना गर्न नसकेकाले आगामी दिनमा कस्ता तालिमहरु दिए बेरोजगार र रोजगारदाता बिचको समस्या समाधान हुन सक्ने भन्ने विषयमा कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


















