अत्तरिया – कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक आर्थिक वर्षमा साढे ३ करोड बढी आम्दानी गरेको छ । खानेपानी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ५७ लाख ३२ हजार ४६६ रुपैयाँ आम्दानी गरेको हो । संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले खानेपानीको महसुलबाट उक्त आम्दानी प्राप्त गरिएको बताए । यस्तै संस्थाले गत आर्थिक वर्षको २४ लाख ३० हजार ८७५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालय प्रमुख पनेरुले करिब १ हजार ७ सय उपभोक्ताबाट उक्त रकम उठाउन बाँकी रहेको बताए । हाल संस्थाले ५ हजार १३७ उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले गत आर्थिक वर्षमा ३ करोड ८५ लाख ८१ हजार ३६८ रुपैयाँ खर्च गरेको र हाल संस्थाको नगर विकास कोषमा ३ करोड १० लाख ३६ हजार ७५५ रुपैयाँ ऋण रहेको कार्यालय प्रमुख पनेरुले बताए ।
संस्थामा हाल ६ सय घन मिटर र ४२५ घन मिटरका २ वटा ओभरहेड ट्यांकीहरु रहेका छन् भने एउटा २ सय घन मिटरको रिजर्भ ट्यांकी रहेको छ । संस्थाले मेन र शाखा गरी १०९ किलोमिटर पाइप लाइन बिस्तार गरिसकेको छ । २०५८ सालमा स्थापना भएको संस्थाले हाल गोदावरी नगरपालिकाको वडा नम्बर १, २ र ४ का उपभोक्ताहरूलाई खानेपानी वितरण गर्दै आएको छ ।

महँगो महसुल

खानेपानी संस्थाले हाल खपत युनिट अनुसार महसुल कायम गरेको छ । तर, उक्त महसुल ग्रामीण क्षेत्र र सुदूरपश्चिमका मुख्य सहर धनगढी, महेन्द्रनगरको तुलनामा महँगो रहेको छ । कार्यालय प्रमुख पनेरुका अनुसार हाल संस्थाले ० देखि ८ युनिटको न्यूनतम महसुल १५० लिँदै आएको छ । यस्तै ९ देखि १६ युनिटको प्रति युनिट २५ रुपैयाँ, १७ देखि २४ युनिटको प्रतियुनिट ३० रुपैयाँ र २४ भन्दा माथिको प्रतियुनिट ३५ रुपैयाँका दरले महसुल उठाउँदै आएको छ ।
नेपाल खानेपानी संस्थान मार्फत खानेपानी वितरण हुने सुदूरपश्चिमका प्रमुख सहर धनगढी र महेन्द्रनगरमा भने १० युनिटको न्यूनतम ११० रुपैयाँ र त्यसभन्दा माथि प्रतियुनिट २५ का दरले महसुल लिने गरिएको छ ।
यस्तै गोदावरी नगरपालिका भित्र नै रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पनि प्रतियुनिट २० रुपैयाँका दरले महसुल लिँदै आएको छ । संस्थाका अध्यक्ष दीर्घ बहादुर साउँदले न्यूनतम १० युनिटको १५० शुल्क भने रहेको बताए । वडा नम्बर ७ मा रहेको उक्त संस्थामा हाल १४ सय भन्दा बढी उपभोक्ता रहेका छन् ।
यस्तै गोदावरीको ओलानी क्षेत्रमा खानेपानीको वितरण गर्दै आएको गोदावरी गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रतियुनिट १० रुपैयाँ शुल्क लिँदै आएको छ । समितिका अध्यक्ष कृष्ण विकले न्यूनतम शुल्क १० युनिट सम्मको १५० र त्यो भन्दा मार्थी प्रतियुनिट १० रुपैयाँ मात्रै महसुल लिने गरेको बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीकी सूचना अधिकारी सुना पाठक पन्तले खानेपानी संस्थानको महसुल देशभरि एउटै हुने भए पनि उपभोक्ता समितिहरूले भने आ–आफ्नो मापदण्ड बनाएर महसुल लिने गरेको बताइन् । उनले उपभोक्ता समितिहरूले उपभोक्ताको तिर्न सक्ने क्षमताका आधारमा मापदण्ड बनाएर निर्णय गर्ने भएकाले फरक फरक ठाउँमा फरक फरक हुने गरेको बताइन् ।


















