खाेज्नुहाेस

सुदूरपश्चिममा सकियो रोपाइँ, धानको जात बदल्न आवश्यक

Image

अत्तरिया – सुदूरपश्चिममा यो वर्षको रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ९९ दशमलव ५५ प्रतिशत रोपाइँ सकिएको हो । धान रोपाइँ हुने एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर क्षेत्रफलमध्ये एक लाख ७३ हजार सात सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।

प्रदेशका नौ जिल्लामध्ये छ जिल्ला कैलाली, कञ्चनपुर, बाजुरा, बझाङ, अछाम र डडेल्धुरामा शतप्रतिशत रोपाइँ भइसकेको निर्देशनालयको तथ्याङ्क छ । कैलालीमा ६७ हजार चार सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । त्यसैगरी कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर, बाजुरामा सात हजार तीन सय तीन हेक्टर, बझाङमा १२ हजार पाँच सय, अछाममा १६ हजार पाँच सय ९० र डडेल्धुरामा र डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।

add everest academy
attariya hospital

बाँकी तीन जिल्लामा पनि करिब रोपाइँ सम्पन्न भइसकेको छ । दार्चुलामा धान रोपाइँ हुने कुल क्षेत्रफलको ९८ दशमलव ६६ प्रतिशत रोपाइँ सकिएको छ । चार हजार चार सय ८० कुल क्षेत्रफलमा चार हजार चार सय २० हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, डोटीमा ९० दशमलव ०१ प्रतिशत र बैतडीमा ९८ दशमलव ५६ प्रतिशत रोपाईँ सकिएको छ । डोटीको छ हजार चार सय २६ हेक्टरमध्ये पाँच हजार सात सय ८४ हेक्टरमा र बैतडीमा पाँच हजार दुई सय २५ हेक्टरमध्ये पाँच हजार एक सय ५० हेक्टरमा रोपाइँ सकिएको छ ।

वर्षा नियमित नहुँदा केही ढिला

विगतका वर्षभन्दा केही दिन मात्रै ढिला गरी बर्खे धान रोपाइँ सुरु भए तापनि रोपाइँ ठिकै समयमा सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलका निर्देशक खगेन्द्रप्रसाद शर्माले बताए । ‘यसपाली रोपाइँ त्यही चार/पाँच पर्सेन्ट जति मात्र ढिला भाको हो, खासै त्यस्तो धेरै ढिलो भाको हैन’, उनी भन्छन्, ‘नियमित रुपमा नपर्‍या हुनाले पानी, एकैचोटी बाढी आउने गरी आयो त्यसपछि आउँदै आएन, त्यही भएर धेरै फरक त पर्‍या छैन चार/पाँच पर्सेन्ट हो ।’

attariya technical collage

उनले रोपाइँ विगतकै समय अनुसारै सम्पन्न भएको बताए । ‘साउन १५ भित्रमा लगभग सक्किने नै हो विगतमा पनि, अब अहिले पनि लगभग त्यही टाइममा सक्या छ, त्यही चार/पाँच पर्सेन्ट तलमाथि हो’, उनले भने । अहिले खेतीपाती गर्नका लागि विभिन्न उपकरणहरु प्रयोग गरिने हुँदा पनि रोपाइँ गर्न कृषकहरुलाई सहज हुन थालेको र रोप्नका लागि समय पनि कम लाग्ने गरेको उनी बताउँछन् । ‘अहिले मेसिनले रोपाइँ गर्न थालिसके किसानहरु त्यही भएर रोप्न धेरै समय लाग्दैन’, उनी भन्छन् ।

navjiwan hospital

जिल्ला अनुसार फरक–फरक धान

जिल्ला अनुसार फरक–फरक जातको धान रोपिने गरेको निर्देशक शर्मा बताउँछन् । हावापानी सबै जिल्लाको एक नासको नभएका कारणले गर्दा पनि जिल्ला अनुसार फरक–फरक जातका धान रोपिने गरेको उनी बताउँछन् । निर्देशक शर्माले कैलालीमा सर्जु ५२ धान बढी रोपिने गरेको बताए । राम्रो फल्ने र छिटो पाक्ने भएपछि किसानहरुले यो धान बढी रुचाउने गरेको उनको भनाइ छ ।

‘कैलालीमा सर्जु ५२ भन्ने धान बढी रोपिन्छ, यो धान अलिकति सुख्खा पनि सहन्छ बढी पानी पनि सहन्छ, खानमा अडिलो छ उत्पादन राम्रो छ त्यही भएर यो धान रुचाएको पाइन्छ’, उनले भने । कैलालीमा सर्जु ५२ सँगै राधा ४ पनि रोपिने गरिन्छ । कञ्चनपुरमा भने राधा ४ सँगै अरु नयाँ जातका धानहरु रोप्ने गरिरहेको निर्देशक शर्माले बताए ।

‘अहिले नयाँनयाँ जातहरु पनि आइराछन्, हर्दिनाथ ३, ४, ५ भन्ने छ, सुख्खा ३, सुख्खा ६ भन्ने छ, थुप्रै छन् जातहरु सावित्री भन्ने छ’, उनले भने । तराईमा हाइब्रेड जातको धानहरु लगाउने गरिएकामा पहाडतिर भने हाइब्रेड नलगाई खुमलफेरिज जातको धान र केही स्थानीय जातका धान लगाइने गरेको उनी बताउँछन् ।

नयाँ धान रोप्न सुझाव

पछिल्लो समय राम्रो उत्पादन दिने विभिन्न जातका धानहरु आइसकेका छन् । निर्देशक शर्मा किसानहरुले अब पुराना जातका धानहरुमा मात्रै नअल्झिई नयाँ जातका धानहरु पनि रोप्नुपर्ने बताउँछन् । ‘अहिले धानका नयाँ जातहरु पनि आइराछन्, तिनीहरु पनि छिटो तयार हुने उत्पादन पनि राम्रो दिने, अलि मसिनो छन् फेरि सर्जु ५२ मोटो छ’, उनी अगाडि भन्छन्, ‘अहिले मान्छेहरुले मसिनो खान रुचाउँछन्, बजारमा माग पनि मसिनोको छ, त्यो कारणले हामीले पनि त्यसमा जोड दिइराछौँ, मूल्य पनि बढी पाउने भाहुनाले मसिनो धान रोप्ने क्रम पनि विस्तारै बढ्दैछ ।’

सर्जु ५२ अब खेतीका लागि धेरै पुरानो भइसकेको उनको तर्क छ । ‘सर्जु ५२ धेरै पुरानो जात हो, इण्डियाले विकास गरेको जात हो, हाम्रो नेपालको जात पनि होइन, त्यो इण्डियामै छैन इण्डियामै हराइसक्यो, नेपालमा पनि अरु जिल्लामा कहीँ छैन, अलिअलि कञ्चनपुरमा हो बढी भनेको कैलालीमा मात्रै छ, त्यसमा रोग किराहरु पनि बढ्दैछ धेरै पुरानो भाहुनाले, तैपनि अहिलेसम्म बढी त्यसैलाई लाइराछन् पहिलेदेखि लागेको बानी जस्तो भनौँ न’, उनले भने, ‘केही विशेषता त थिए त्यसका तर सधैँ ती विशेषता रहन्नन्, धेरै वर्ष भएपछि त्यसका गुण हराउँदै जान्छन्, त्यसैले हरेक १०/१५ वर्षमा नयाँ–नयाँ जातहरु आइरहनुपर्छ ।’

उनका अनुसार सकेसम्म पाँच/सात वर्षमा धानको नयाँ जातहरु लाउनुपर्छ नभए ढिलोमा १० वर्षमा नयाँ जात लाउनैपर्ने हुन्छ ।