बैतडी – बैतडीका विभिन्न सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता भएको छ । गत आर्थिक वर्षमा संघ र प्रदेश मातहत रहेका जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको ८७ करोड ११ लाख ५ हजार ४५२ रुपैया फिर्ता भएको हो ।
सरकारी कार्यालयहरुबाट खर्च हुन नसकेर गत आर्थिक बर्ष २०८०/८१ मा उक्त रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । जिल्लामा संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालु र पुँजिगत गरी ६ अर्ब ६७ करोड ७ लाख ४० हजार ३९३ रुपैया बजेट आएको थियो ।


त्यसमध्ये कार्यालयहरुले दुवै शिर्षकमा ६ अर्ब २४ करोड ६१ लाख ५१ हजार ४४० रुपैया मात्रै खर्च गर्न सकेका छन । जसका कारण बाँकी रहेको ४२ करोड ४५ लाख ८८ हजार ९५३ रुपैया फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय ले जनाएको छ ।
त्यस्तै जिल्लामा प्रदेश कार्यालयका लागि २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैया बजेट आएकोमा २ अर्ब १० करोड ४४ लाख ७० हजार २४४ रुपैया खर्च भएको छ ।
जसका कारण ४४ करोड ६५ लाख १६ हजार ४९९ रुपैया फिर्ता भएको देखिन्छ । जिल्ला मातहतका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेका कारण उक्त मात्रामा बजेट फिर्ता गएको बताईएको छ ।


















