धनगढी – देशभरमै सबैभन्दा धेरै गरिबी सुदूरपश्चिममा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) मा प्रदेशको कूल जनसङ्ख्याको ३४.१६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ ।

यो नेपालको सातवटा प्रदेशमध्येको उच्च हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालैमात्र सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा अनुसार हाल नेपालको गरिबको दर २०.२७ प्रतिशत रहेको छ ।

उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ९ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ । जस अनुसार हाल सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एकतिहाइ जनताले वार्षिक ७२ हजार ९ सय रुपैयाँ बराबरको उपभोग्य वस्तु उपभोग गर्ने सामर्थ्य पनि राख्दैनन् ।

कर्णाली प्रदेशको गरिबीको दर २६.६९ प्रतिशत रहेको छ । तेस्रोमा लुम्बिनीको २४.३५ प्रतिशत, मधेस प्रदेशको २२.५३ प्रतिशत, कोशी प्रदेश १७.१९ प्रतिशत, बागमती प्रदेश १२.५९ प्रतिशत र गण्डकी प्रदेश जम्मा ११.८८ प्रतिशत रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।