अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा पुनः विवाद सुरु भएको छ । संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट विवादीत बनेको संघ केही समय यता शान्त बनेपनि आईतबार देखी पुनः विवादीत बनेको हो । नेपाल धितो पत्र बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा सोमबार सञ्चालन हुन लागेको पुँजी बजार, शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमका विषयमा संघकै पदाधिकारीहरु बिच विवाद सृजना भएको छ । जसले गर्दा उक्त कार्यक्रम हुने या नहुने विषयमा अन्योलता सृजना भएको छ ।
संघका महासचिव शंकर खड्काले अध्यक्ष कल्याण सिँह बोहराले संघका अन्य कुनै पनि पदाधिकारीहरुलाई जानकारी नै नदिई मनोमानि रुपमा कार्यक्रम हुने भन्ने जानकारी दिएको भन्दै आपत्ति जनाएका छन । उनले उक्त कार्यक्रममा आफु सहभागि नहुने बताए । आफु मात्रै नभई संघका वरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष, कोषाध्यक्ष लगायतका करिब ११/१२ जना पदाधिकारी उक्त कार्यक्रममा सहभागि नहुने उनको भनाई छ ।

उनले कार्यक्रमका बारेमा जानकारी नै नदिई एकलौटी रुपमा कार्यक्रमको आयोजना गरिन थालेकाले आफुहरुले विरोध जनाएको बताए । त्यतिमात्रै नभई उद्योगी व्यवसायीहरुलाई महासचिवको जानकारी बिना अध्यक्ष बोहराले आफैले चिठ्ठिमा हस्ताक्षर गरेर वितरण गरेको पनि उनले आरोप लगाए । अध्यक्ष बोहराको अध्यक्षतामा हालसम्म कार्यसमितिको बैठक समेत नबस्ने गरेको अवस्थामा एकलौटी रुपमा गरिएको निर्णय स्विकार्य नहुने उनको भनाई छ । उनले उक्त विषयमा आफुहरुले नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई जानकारी दिईसकेको बताए ।

संघले आयोजना गरेको महोत्सवमा नक्कली टिकट ठेली भेटिएको प्रकरणमा मुछिए यता संघमा विवाद चर्किदै आएको छ । संघका अध्यक्ष बोहराले भने आफुले सबै पदाधिकारीहरुलाई उक्त विषयमा जानकारी गराएको बताएका छन । उनले बैठक बस्ने अवस्था नरहेकाले आफुले संघका सबै पदाधिकारीहरुलाई मौखिक रुपमै जानकारी गराएको बताए ।
सबै पदाधिकारीहरुले कार्यक्रम राम्रो भएको भन्दै सहमती जनाएपछि मात्रै आफुले उक्त विषयलाई अगाडी सारेको उनको भनाई छ । उनले चिठ्ठिमा हस्ताक्षरको विषयमा भने आफुले हालसम्म अध्यक्षकै हस्ताक्षरको चिठ्ठि वितरण भएको थाहा पाएको बताए । ‘मैले दुई कार्यकालसम्म यो समितिमा बसिसकेको छु’ उनले भने ‘आजसम्म अध्यक्ष कै हस्ताक्षरमा चिठ्ठिहरु वितरण हुन्थे, मैले पनि आफैले हस्ताक्षर गरेर व्यवसायी साथीहरुलाई चिठ्ठि वितरण गरेको हुँ ।’ उनले अझै पनि सबै साथीहरु कार्यक्रममा उपस्थीत हुन्छन भन्ने आफुलाई विश्वास भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले उक्त कार्यक्रमको सञ्चालनमा सहयोग गरिदिन भन्दै कैलालीको टिकापुर उद्योग वाणिज्य संघ र अत्तरिया उद्योग वाणिज्य संघलाई यही असार १४ गते पत्र पठाएको छ । उक्त पत्रमा कार्यक्रममा ७० जना सरोकारवाला उद्योगी व्यवसायी एवम् लगानीकर्ताहरुलाई सहभागि गराई कार्यक्रम सञ्चालनमा सहयोग गरिदिन भनिएको छ । पत्रअनुसार उक्त कार्यक्रम गोदावरी रिसोर्टमा सोमबार दिउँसो ३ बजे आयोजना हुनेछ । तर संघकै अन्य पदाधिकारीहरुले विरोध गरिरहदा कार्यक्रम सञ्चालन हुने या नहुने भन्ने विषयमा भने अन्योलता कायम रहेको छ ।



















