अत्तरिया – गोदावरी युवा सञ्जालले राष्ट्रिय धान दिवस मनाएको छ । सञ्जालले शनिवार गोदावरी नगरपालिका – ३ मालाखेतीमा धान रोपाइँ गरेर असार १५ मनाएको हो ।

युवाहरूको खेतीपाती प्रति आकर्षण घटिरहेकाले युवालाई आकर्षित गर्न धान दिवस मनाइएको युवा व्यवसायी दीपक ओझाले बताए । सो अवसरमा करिब ८ कट्टा जग्गामा धान रोपिएको उनले बताए । दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रमको नेतृत्व युवा व्यवसायी राम चन्द्र सापकोटाले गरेका थिए । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आइतबार देशभर २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।