महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नि:शुल्क शव वाहन, बुक फ्रि फ्राइडे देखि ‘मेयर अन द स्पट’ सम्मका कार्यक्रम समेट्दै भीमदत्तकी कार्यवाहक नगरप्रमुख तथा नगरसभा उपाध्यक्ष नीलम लेखक जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले नगर क्षेत्रभित्र शव वाहन नि:शुल्क उपलब्ध गराउने, विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा विद्यार्थीहरुको रचनात्मकता प्रस्फुटन गर्न (अतिरिक्त क्रियाकलाप गर्ने) विद्यालयमा पुस्तकविहीन शुक्रवार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपोन्मुख जाति, द्धन्द्ध पीडित, महामारी विपद् प्रभावित, हिंसामा परेका महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भीर दुर्घटनामा परेका व्यक्ति तथा साहाराविहीन व्यक्ति विशेषको हकमा ‘मेयर अन द स्पट’ कार्यक्रम प्रस्तुत गरिएको नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।


प्रस्तुत नीति तथा कार्यक्रममा नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगरप्रमुख पूर्वाधार विकास कार्यक्रम’, नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको पहिचान, संरक्षण र लागत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, भीमदत्तलाई विषादीमुक्त नगरपालिका बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, युवाहरुका लागि सूचना प्रविधिमा आधारित रोजगारीलाई प्राथमिकता दिने निति अवलम्बन गरिएको नगर प्रवक्ता अवस्थीले बताए ।
यस्तै ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ विद्यालयहरुमा सञ्चालन गरी स्वस्थ वातावरण र शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइने, संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ व्यवस्थित गरी लागु गरिने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरुलाई शिक्षाका साथसाथै व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गरिने कुरालाई निति तथा कार्यक्रममा समेटिएको नगर प्रवक्ता अवस्थीले बताए ।
त्यस्तै, ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, स्वास्थ्य सेवामा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको बिस्तार र सुदृढीकरण गर्दै समतामूलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्न समुदाय स्तरमा शिविर र विशेषज्ञ सेवाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने, प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसुति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरुका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिई प्रभावकारी बनाइने लगायत समेट्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रवक्ता अवस्थीका अनुसार समग्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ का लागि १ अर्ब ९५ करोड ६९ लाख ३३ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । नीति कार्यक्रम तथा बजेटसँगै नगरपालिकाले आर्थिक विद्येयक २०८१ र आर्थिक विनियोजन विद्येयक २०८१, प्रस्तावसहित पेश गरिएको पनि बताइएको छ । नगर प्रवक्ता अवस्थीले प्रस्तुत नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि नगर सभा सदस्यहरुलाई समय दिइएको र नगरप्रमुख नगरसभा अध्यक्ष पदम बोगटी आएपछि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल एवम् पारित गरिने बताए । अचानक आँखामा समस्या आएपछि नगरप्रमुख बोगटीको आँखाको शल्यक्रिया गरिएको छ ।


















