महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले कपडाको हाते झोला बनाउन स्थानीयहरुलाई तालिम दिएको छ । प्लाष्टिक झोलाको प्रयोगले वातावरणमा पर्ने असरलाई मध्यनजर गर्दै तथा प्लाष्टिक झोला प्रयोगलाई न्यूनीकरण गर्न नगरपालिकाले स्थानीय महिलाहरुलाई कपडाको हाते झोला बनाउन तालिम दिएको हो ।

नगरपालिकाले विपन्न तथा समुदायका महिलाहरुको आर्थिक उन्नती सँगसँगै प्लाष्टिक झोलाको प्रयोग हटाउने उद्देश्यले २८ जना महिलालाई कपडाको हाते झोला बनाउन तालिम दिइएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले बताइन् । ‘विपन्न, गरिब तथा दलित समुदायका महिलाहरुको जीवनस्तर उकास्न, आर्थिक उन्नती र प्लाष्टिक झोलाको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले कपडाको हाते झोला बनाउने तालिम दिएको छ’, उनले भनिन् ।

यस्तै उनले सिकेका कुरालाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उत्पादित झोलाको बजारीकरणका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने बताइन् । प्लाष्टिकका झोला प्रयोगले हाम्रो वातावरण दिनप्रतिदिन प्रदुषण हुँदै गएकोले त्यसको न्यूनीकरण र महिलाहरुलाई आत्मनिर्भर बनाउन,उनीहरुको जीवनस्तर उकास्नका लागि हाते झोला बनाउने तालिम दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए ।
१५ दिनसम्म सञ्चालन भएको उक्त तालिम आइतबार एक कार्यक्रमबीच समापन गरिएको थियो ।
















