काठमाडौँ- मनसुन नपुगे पनि सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा पानी पर्दै आएको छ । कैलाली-कञ्चनपुर लगायतका केही ठाउँमा हिजो पानी परेको थियो । नेपालमा गत जेठ २८ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको थियो ।

कोशीबाट प्रवेश गरेको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनीको पूर्वी भू–भागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मनसुन फैलन समय लागेको मौसमविद् अधिकारीले बताए ।

सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलने गरेकोमा यस वर्ष केही ढिला भएको हो । केही दिनमै मनसुन देशभर फैलने महाशाखाले जनाएको छ ।
यस्तै, आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा मुसलधारे वर्षा र यी चारै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















