अत्तरिया- कैलालीमा यस वर्ष ७९ हजार ३८५ मेट्र्कि टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५ हजार २६५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७९ हजार ३८५ मेट्रिक टन आलु उत्पादन भएको हो ।
यस वर्ष हिउँदे आलु ४ हजार ५८० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ७२ हजार १३० मेट्रिक टन उत्पादन भएको छ भने वर्षे आलु ६८५ हेक्टर क्षेत्रफलमा लगाइएकोमा ७ हजार २५५ मेट्र्कि टन उत्पादन भएको छ । गत वर्षको तुलनामा यो वर्ष आलु उत्पादनमा वृद्धि भएको छ ।


कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ७५ हजार २० मेट्रिक टन आलु उत्पादन भएको थियो । जुन यो वर्षभन्दा ४ हजार ३६५ मेट्रिक टनले कम हो । गत वर्ष हिउँदे आलु ६७ हजार ७६० मेट्रिक टन र वर्षे आलु ७ हजार २६० मेट्रिक टन उत्पादन भएको थियो ।
यो वर्ष आलुको उत्पादनसँगै खेती गरिने क्षेत्रफलमा पनि वृद्धि भएको पाइएको छ । गत वर्ष ५ हजार २ सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा यस वर्ष ५ हजार २६५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । यस वर्ष आलुखेती गरिएको क्षेत्रफल ६५ हेक्टरले बढी देखिएको छ । गत वर्ष हिउँदे आलु ४ हजार ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको थियो भने वर्षे आलु ६८८ हेक्टर क्षेत्रफलमा लगाइएको थियो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष हिउँदमा कुहिरो कम लाग्दा पनि आलु उत्पादनमा वृद्धि भएको बताए । ‘यस वर्ष मौसमले साथ दियो भनौँ, हिउँदमा कुहिरो पनि कम लाग्यो, अनि गोदावरीतिरका किसानहरुले पनि आलुखेती गरिरहेका छन्, यो वर्ष आलु लाउने किसान पनि बढेका छन्’, उनले भने ।
सूचना अधिकारी जोशीका अनुसार बढीजसो कैलालीको घोडाघोडी नगरपालिकाका किसानहरुले आलुखेती गर्ने गरेका छन् । ‘विशेषगरी घोडाघोडीमा आलुखेती धेरै गरिन्छ, त्यसपछि गोदावरी, गौरीगंगा अनि लम्कीचुहा र टीकापुरतिरका किसानहरुले पनि आलुखेती गर्ने गरेका छन्,’ उनले भने । कैलालीमा उत्पादित आलु बुटवल पनि पठाइने गरेको सूचना अधिकारी जोशीले बताए ।

















