कैलालीमा चैते धान खेती बढ्दै, किसानलाई बाढीको क्षतिबाट मुक्ति

अत्तरिया – कैलालीमा चैते धान खेती गर्ने क्रम बढ्दै गइरहेको छ । अन्य वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्ने क्षेत्रमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष एक हजार एक सय २५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै छ । गत वर्ष २०७९/८० मा एक हजार ८० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो ।

Karma Consultancy

किसानहरूले हिउँदे बाली लगाएर खाली रहेको जमिनमा चैते धान रोप्ने गरेका छन् । बाढी लाग्ने, बाँझो रहेको जमिनमा यो समयमा चैते धान रोप्न उपयुक्त हुने भएकाले चैते धान खेती गर्ने जमिनको क्षेत्रफल पनि बढ्दै गइरहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउँछन् । ‘आलुखेती, तोरीखेती गरेर हिउँदे बाली लगाएर खाली रहेको जमिनमा चैते धान खेती गरिन्छ’, उनी भन्छन्, ‘बाढी लाग्ने बाझो जमिनमा चैते धान खेती गरिने हो ।’

citizen security services

बर्खे धान खेती गर्दा बाढी लाग्ने समस्या भएको जमिनबाट राम्रो उत्पादन लिन नसकिने र चैते धानको विकल्प नै नभएकाले पनि अहिले चैते धानको खेतीमा किसानहरूले रुचि देखाउन थालेका उनी बताउँछन् । ‘चैते धान रोपिने डुबान क्षेत्र हो, बर्खे धान खेती हुँदैन, यसको विकल्प नै चैते धान हो’, उनले भने । मसिनो, मोटो दुवै किसिमको धान फलाउन सकिने हुनु पनि चैते धान खेती बढ्नुको एक कारण भएको उनी बताउँछन् ।

attariya hospital

कृषि ज्ञान केन्द्र प्रमुख शर्माका अनुसार कैलालीमा मुख्य गरी चैते २, चैते ४, हर्दिनाथ १ र हर्दिनाथ ३ जातको चैते धान खेती गर्ने गरिएको छ । भजनी, कैलारी, टीकापुर र जोशीपुर जिल्लाका बढी चैते धान खेती गरिने पालिका हुन् । यीमध्ये भजनी सबैभन्दा बढी उत्पादन हुने क्षेत्र हो । गत वर्ष भजनीमा सबैभन्दा बढी तीन हजार ६ सय ८८ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । ‘भजनी बढी डुबान हुने क्षेत्र हो, बाढी लाग्ने हुँदा बर्खे धान लगाउन समस्या हुन्छ, चैते धानबाट राम्रो उत्पादन लिन सकिन्छ, किसानहरूले राम्रो उत्पादन लिइरहेका पनि छन्, उत्पादन यही क्षेत्रमा राम्रो छ’, उनले भने ।

कैलालीमा किसानहरूले यति बेला चैते धान रोपिरहेका छन् । अबको एक हप्ताभित्रै किसानहरूले चैते धान रोपिसक्ने कृषि ज्ञान केन्द्र प्रमुख शर्माले बताए । चैते धान राम्रो उत्पादन भइरहेको मात्र नभई धानको बीउ र उत्पादनपछि बजारको पनि अभाव नरहेको उनी बताउँछन् । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकामा पाँच हजार दुई सय ५० मेट्रिक टन उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा एक हजार ८० हेक्टर क्षेत्रफलमा खेती गर्दा पाँच हजार पाँच सय आठ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । यस वर्ष एक हजार एक सय २५ हेक्टर क्षेत्रफलमा धान लगाइँदै छ । क्षेत्रफल बढेसँगै विगतझैँ उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख शर्माले खेतीमा प्राङ्गारिक मलको प्रयोगलाई महत्त्व दिइएको बताए । ‘खेती गर्दा रासायनिक मलको बढी प्रयोग भइरहेको हुन्छ, हामीले प्राङ्गारिक मलको प्रयोग गरिनुपर्नेमा जोड दिएका छौँ, गड्यौँला मलहरूको प्रयोग राम्रो हुन्छ’, उनी भन्छन्, ‘राम्रो बीउ मलजल पायो भने राम्रो उत्पादन लिन सकिन्छ ।’

भजनी नगरपालिका–८ खैराका किसान धिरज विक विगत १० वर्षदेखि चैते धान खेती गरिरहेका छन् । वर्षैपिच्छे बाढीले धान खेतीमा क्षति पुगाउन थालेपछि उनले बर्खे धानको विकल्पका रूपमा चैते धान खेती थालेका थिए । आफूसँग डेढ बिघा जमिन रहेकामा अहिले ठेक्कामा लिएर चार बिघा जमिनमा उनले चैते धान खेती गरिरहेका छन् । ‘वर्षेनी बाढी आउने, जहिल्यैको बाढीले खानै नपुग्ने हुन थालेपछि चैते धान लाउन सुरु गरेको हुँ, बर्खे धानभन्दा दुगुना उत्पादन हुन्छ’, उनले भने । उनले हर्दिनाथ १, हर्दिनाथ ५ र चैते ४ जातको चैते धान लगाइरहेका छन् ।

भजनी–८ खैराकै किसान वीरबहादुर चौधरी पनि चैते धान खेती गर्छन् । उनीसँग साढे तीन बिघा जमिन छ । जसमा उनले हिउँदे बाली लगाउनुका साथै चैते र बर्खे दुवै धान खेती गरिरहेका छन् । ‘मैले तीन खेती गरिरहेको छुँ, सुरुमा तोरी, मसुरोहरु लगाउँछु, त्यो पाक्छ अनि चैते धान लगाउँछु, चैतेपछि बर्खे पनि लगाउँछु’, उनले भने । उनले अहिले चैते धान रोपिसकेका छन् । चौधरीले चैते ४, चैते ५ र हर्दिनाथ १ लगाउने गरेकामा यो वर्ष हर्दिनाथ १ मात्रै लगाएको बताए । उनले बर्खेभन्दा चैते धानबाट राम्रो उत्पादन लिन सकिने र बाढीको क्षतिको चिन्ता लिनुपर्ने नहुँदा चैते धान लगाउने गरेको बताए ।

किसान विक र चौधरीले बजारका लागि कुनै समस्या नभएको बताउँदै धान काट्न तथा चुट्नका लागि भने अनुदानमा कम्पेन पाउन सके सहज हुने बताए । जमिन गिलो भए पनि कम्पेनले धान काट्न सकिने हुँदा यसबाट आफूहरूलाई सहज हुने चौधरीले बताए । स्थानीय सरकारले काट्ने तथा चुट्ने समयमा कम्पेन उपलब्ध गराइदिने हो भने धान भित्र्याउने समयमा वर्षा भए पनि क्षतिबाट जोगिन सकिने उनले बताए । कम्पेनले छिटो छरितो पनि हुने हुँदा यसले छिटो, समयमै धानबाली भित्र्याउन एकदमै मद्दत पुग्ने उनीहरू बताउँछन् ।

बर्खे धान लगाउँदा बाढीको मारमा पर्ने गरेका किसान पछिल्लो समय चैते धान खेतीमा जुट्न थालेका छन् । बाढीले धान नै भित्र्याउन नपाइरहेका किसानका लागि चैते धान विकल्प खेती बन्न पुगेको छ । जसबाट उनीहरूले राम्रो उत्पादन लिन सकिरहेका कृषि ज्ञान केन्द्रका प्रमुख शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.