अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा ४ वर्ष अघि देखि नै निर्माण सुरु गरिएको चक्र बुद्ध मुक्ति नाथ मन्दिर (स्तुपा) को काम अझै सम्पन्न हुन सकेको छैन । स्तुपाको २०७६ पुस २० गते तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेर काम अगाडि बढाइएको भए पनि अझै निर्माण सम्पन्न हुन नसकेको हो ।
स्तुपाको साङ्गे छ्यालिङ्ग गुम्बाले विभिन्न दाताहरूबाट सहयोग रकम सङ्कलन गरेर निमार्ण सुरु गरेको थियो । निर्माण सुरु गरेसँगै कोरोनाका कारण रोकिएको काम पछिल्लो समय बजेट अभाव हुँदा पुरा हुन सकेको छैन । स्तुपाको कोरोना पछि रोकिएको काम २०७८ असोज ६ गते तत्कालीन सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङलाई बोलाएर काम सुचारु गराइएको थियो । त्यसपछि कामलाई निरन्तर अगाडि बढाउने भने पनि बजेट अभावका कारण हाल स्तुपाको स्टक्चर तयार भए पनि फिनिसिङको काम हुन सकेको छैन ।
साङ्गे छ्यालिङ्ग गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञ राज भाटले स्तुपा निर्माणका लागि राज्यबाट सहयोग नभएपछि काम गर्न समस्या भएको बताए । ‘हामीले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट सहित गोदावरीका तत्कालीन मेयर, उपमेयरको जम्बो टोलीबाट शिलान्यास गराएका थियौ’ उनले भने ‘आशा थियो, धार्मिक पर्यटकीय क्षेत्रमा वहाँहरूले साथ दिनुहुन्छ भन्ने सोचेका थियौ । तर, सरकारी तवरबाट हामीले कुनै किसिमको सहयोग पाएनौ ।’
उनले हाल सम्म दाताहरूबाट सहयोग सङ्कलन गरेर निर्माणको काम भइरहेको बताए । उनले हालसम्म स्तुपा निर्माणमा १ करोड ३० लाख खर्च भइसकेको बताए । ‘सबै रकम दानदाता र व्यवस्थापन समितिबाट सङ्कलन भएको रकम सँगै प्रमुख लामाको देनबाट सम्पन्न भएको छ’ उनले भने ‘कसैले सहयोग नगरे पनि यसलाई पूर्णता दिन प्रमुख लामा (फर्साङ्ग नोर्बु) लागिराख्नु भएको छ ।’
उनले निर्माण सम्पन्न गर्नको लागि बुद्धिस्टहरूको लिपि अनुसार लेखे अझै ४ करोड लाग्ने देखिएकाले प्रमुख लामाले आफ्नै तरीकारले यसलाई सम्पन्न गर्ने गरी लागेको बताए । ‘बुद्धिस्टहरूको लिपि अनुसार लेख्दा एक अक्षरकै ४ हजार लाग्ने रहेछ । त्यसरी बनाउँदा ३–४ करोड लेख्नमै लाग्ने देखिएको छ’ उनले भने ‘त्यो सम्भव नभएर प्रमुख लामा आफै विज्ञ भएकाले जति सक्छु गर्छु भनेर लाग्नु भएको छ ।’
साङ्गे छ्यालिङ्ग गुम्बाका प्रमुख फर्साङ्ग नोर्बु लामा हाल स्तूप निर्माणमा खटिएका छन् । उनले आफ्नो सास रहुन्जेल स्तुपा एक्लै काम गरेर सम्पन्न गर्ने प्रण लिएका भए पनि सञ्चार माध्यममा भने बोल्न चाहेनन् । पछिल्लो ४ वर्षदेखि विभिन्न निकायमा माग गर्दा गर्दै पनि कतैबाट सहयोग नजुटेकाले आफूहरू थाकिसकेको उनको भनाइ छ । नेताहरू आउँदा उनीहरूलाई स्वागत सत्कार गर्न उल्टै खर्च हुने भए पनि त्यसपछि नफर्कने गरेको समितिको गुनासो छ ।
बौद्ध स्तुपा गोदावरीको निर्माण रमणीय स्थल काठे पुल छेउको अग्लो स्थानमा भइरहेको छ । स्तुपा निर्माण भएमा गोदावरी क्षेत्रको धार्मिक सँगै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।