
सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा हात्तीका बथान बस्तीमा पस्दा बिगाहा जमिनमा लगाएको गहुँ बालीमा क्षति भएको छ । बिहीबार राती बेलौरी नगरपालिका – ९ डाडाकुण्डामा हात्तीको बथानले करिब ३ बिगाहा जमिनमा लगाएको गहुँ बाली, केराबारीमा क्षति गरेको हो ।


स्थानीय करन सिंह धामी, दुर्गादेवी जैसीको १ बिगाहा, चेतराम चौधरीको ८ कट्ठा, सन्तोष ऐरीको ३ कट्ठा जमिनमा लगाएको गहुँ बाली र केरा बारीमा क्षति गरेको किसानहरूले बताएका छन् ।
राती ११ बजे आएको हात्तीको बथान बस्तीमा पस्दा स्थानीयहरू रातभर हात्ती धपाउन जाग्राम बस्नुपरेको किसान चेतराम चौधरीले बताए । नजिकै रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा बिहान हात्ती पसेकोले स्थानीय अझै बस्ती प्रवेश गर्ने हो कि भन्ने चिन्तामा छन् ।
‘रातभर हात्ती धपाउन मै रह्यो, ट्याक्टर, मोटरसाइकल चलाइ होहल्ला गर्दै धपायौ’ चौधरीले भने ‘बल्लतल्ल गए, नजिकै वनमा छन् भन्छन् । फेरि आए समस्या हुने हो ।’ चौधरीका अनुसार बेलाबेला उक्त क्षेत्रमा हात्ती आउने भए पनि सरोकारवाला निकायले ध्यान दिएको छैन ।
अहिले दुधुवा नेशनल पार्क भारतबाट हात्ती मध्यवर्ती वनबाट आउने जाने समय हो । मध्यवर्ती क्षेत्र नजिक बस्ती बस्दा अहिले जङ्गली जनावरले क्षति गरिरहेकोले समस्या आइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर पोस्ट बेलडाडिका गेम स्काउट प्रतिनिधि मीन बहादुर रानाले बताए ।
रानाका अनुसार यसको निराकरणको लागि मेष वायर जडान गर्नुपर्ने भए पनि महँगो र झन्झटिलो भएकोले कार्यान्वयन हुन सकेको छैन। तत्काल निराकरण गर्न साइरन बजाउने, पटाका पट्काउने, होहल्ला गर्ने गरे मात्रै हात्ती बस्ती पस्नबाट रोक्न सकिने राना बताउन्छन ।