अत्तरिया – राज्यका निकायमा पहुँच विस्तार सँगै दलित महिलाहरू सशक्त बन्न थालेका छन् । वडा तहमा दलित महिलाको सुनिश्चितता सँगै अन्य क्षेत्रमा पनि दलित महिलाको पहुँच विस्तार हुन थालेपछि दलित महिला सशक्त बन्न थालेका हुन । हिजोका दिनमा सङ्गठित पनि हुन नसकेका दलित महिला पछिल्लो समय खुलेर मञ्चमा भाषण गर्ने देखि लिएर आफ्ना हक अधिकारका लागि आवाज उठाउन थालेका छन् ।

दलित महिला संघ (फेडो) की अध्यक्ष अम्बिका ताम्राकारले पछिल्लो समय वडा तहमै दलित महिलाहरू सङ्गठित भएर आफ्ना हक अधिकारका विषयमा आवाज उठाउन थालेको बताइन् । मंगलबार गोदावरीको वडा नम्बर २ मा आयोजित ४ दिने दलित महिला सशक्तीकरण कार्यक्रममा बोल्दै उनले दलित महिलाहरू अहिले आफै वडाबाट बजेट माग गरेर आफ्ना लागि कार्यक्रम गर्न सक्षम भएको बताइन् ।

‘अहिले वडाका ३ वटा दलित महिला समूहले वडाबाट ठुलो बजेट ल्याएर कार्यक्रम गर्नु भनेको दलित महिला सशक्तीकरण भएको मान्नुपर्छ’ उनले भनिन् ‘यो एक ठुलो उपलब्धि हो ।’ उनले विगतमा दलित महिला संघले गाउँ–गाउँमा दलित महिला समूह गठन गरेर स्तर वृद्धिका लागि गरेको प्रयासको नतिजा स्वरूप हालको उपलब्धि भइरहेको बताइन् । उनले महिलाको क्षमता, नेतृत्व विकास र आर्थिक विकासका लागि थप सशक्तीकरणका कार्यक्रम आवश्यक रहेको बताइन् ।


तालिममा सहभागी कल्पना विकले दलित महिला सशक्तीकरण तालिमले महिला हिंसा भएमा न्यायका लागि कहाँ जाने, महिला कसरी आफ्नो नेतृत्व विकास गर्ने लगायतका कुरा सिक्ने अवसर पाएको बताइन् । ‘हामीलाई विभेद भइहाले, हिंसा भए कहाँ जाने भन्ने कुराको पनि जानकारी नपाएका रहेछौ’ उनले भनिन ‘हामीले कुनै घटना भए प्रहरी कार्यालयमा जाने मात्रै बुझेका थियौ । सशक्तीकरण तालिममा हामीले पालिकामा पनि न्यायिक समिति छन् । अन्य पनि हाम्रा आवाज उठाउने सङ्घसंस्था छन् भन्ने थाहा पाएका छौ ।’
तालिममा सहभागी पूजा विकले नेतृत्व विकासका लागि तालिमबाट सहयोग पुगेको बताइन् । उनले आफूलाई बोल्नै अप्ठ्यारो लाग्ने गरेकोमा तालिम पाएपछि अब नेतृत्व गर्न सक्छु की भन्ने आट आएको बताइन् । तालिममा सहभागी सुशीला विकले अब घरेलु हिंसा, दलित माथि हुने विभेदका विरुद्ध आवाज उठाउने बताइन् ।
तालिमकी संयोजक एवम् चेतनशील दलित महिला बाख्रा पालन समूहकी अध्यक्ष सुमित्रा शोपले दलित महिला पछिल्लो समय एकजुट भएर कार्यक्रम गर्न सफल भएको बताइन् । उनले गोदावरीमा दलित महिला सशक्तीकरणको काम सुरु भएकाले यसलाई नगरका १२ वटै वडामा विस्तार गर्न आवश्यक रहेको बताइन् ।
फागुन २६ गते देखि २९ गते सम्म वडा नम्बर २ को सहयोग र दीपज्याती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको आयोजनामा दलित महिला सशक्तीकरण तालिम आयोजना गरिएको थियो । जसका लागि वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो ।
वडा अध्यक्ष यज्ञ महराले दलित महिलामाथि अझै थिचोमिचो रहेकाले यसबाट महिला बाहिर निस्किन सशक्तीकरणका कार्यक्रम आवश्यक रहेको बताए । उनले तालिममा सिकेका कुरा अरू महिलाहरूलाई पनि सिकाउन आग्रह गरे । तालिममा वडा नम्बर २ का ४० महिला सहभागी रहेका थिए । तालिममा अधिवक्ता गणेश कडायतले प्रशिक्षण दिएका थिए ।