खाेज्नुहाेस

धनगढीमा ब्रोकर नम्बर ३४ ले लगानीकर्ता सचेतना कार्यक्रम गर्ने

Image

धनगढी- भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३४)ले धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिवृद्धिको लागि लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ । भिजनले यही फागुन ५ गते धनगढीस्थित ओम प्यालेसमा सेयर कारोबार सम्बन्धी ज्ञान अभिवृद्धिको लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्न लागेको भिजन सेक्युरिटिजले जनाएको छ । कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, लगानीकर्ताले गर्ने गल्तीहरु, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा अनलाइन कारोबार सम्बन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिइने भिजन धनगढी शाखाकी माया जोशीले बताइन् ।

attariya hospital
navjiwan hospital

त्यसैगरी धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानहरुका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीहरुको आधारभूत प्राविधिक विश्लेषणलगायतका बारेमा सहभागीलाई प्रशिक्षित गराइने उनले बताइन् ।

कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र सेयरबजारविज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टाराईले प्रशिक्षण दिने बताइएको छ । कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था रहेको र सेयरबजारमा कारोबार गरिरहेका र लाग्न रुची भएका सबैलाई सो प्रशिक्षण सहभागी हुन भनिएको छ ।

धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरुलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको भिजनले जनाएको छ । भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र ३ वटा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ ।