नेपालमा गरिएको एडिएपि बेसलाइनले १५ देखि १९ वर्षका किशोरकिशोरीहरुमा १५ जिल्लामा गरेको सर्वे अनुसार १६ बर्षकै उमेरमै यौन सम्पर्क गरेको पाइएको छ । नेपालको संबिधानले २० बर्षपछि मात्र विबाह गर्ने कानुनी मान्यता दिएको छ । गल्र्स आर नट ब्राइडको वेबसाइटमा दिइएको तथ्याङ्क अनुसार नेपालमा ३३ प्रतिशत बालिकाहरु १८ बर्ष भन्दा मुनि र ८ प्रतिशत भन्दा बढी बालिकाहरु १५ बर्ष भन्दा पहिले नै विवाह गर्छन । यसरि विवाह हुनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ५३ प्रतिशत, कर्णाली प्रदेशमा ४८ प्रतिशत र सुदुरपस्चिम प्रदेशमा ४५ प्रतिशत रहेको छ । त्यसै गरि ह्युमन राइट्स वाच र वल्र्ड भिजन इन्टरनेसनलको तथ्यांक अनुसार ३७ प्रतिशत बालिकाहरु १८ बर्ष भन्दा मुनि र १० प्रतिशत बालिकाहरु १५ वर्ष मुनि विवाहित छन् । यो तथ्यांक निकै गम्भीर हो । उक्त बालविवाह सम्बन्धि समस्याको तथ्याङ्कगत विवरण मात्रै हो ।

सुदुरपश्चिम प्रदेशमा किशोरकिशोरीहरुले भोग्ने गरेका धेरै किसिमका व्यक्तिगत र सामाजिक समस्याहरु छन । छाउपडी र त्यसले ल्याउने गरेको दैनिक क्रियाकलाप तथा पढाइमा पर्ने असर, बढ्दो उमेर संगै दौंतरी विच हुने मायाप्रेम र त्यसको मर्यादित व्यवस्थापनका चुनौती, किशोरा अवस्थामै अनिछित हुने गर्भाधारण, बालविवाह पछि आउने उनीहरुको अध्ययन तथा करिअरमा आउने चुनौतीहरु, साथै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कौतुहलता, लगायत विभिन्न किसिमका यौन शोषण र दुर्व्यबहार आदि धेरै किसिमका समस्याहरु छन् । यस्ता किसिमको समस्याहरुको समाधान नपाउँदा उनीहरुको जिबन भविस्यमा निकै कठिन हुन सक्छ । यस्तो किसिमको समस्याहरुलाई समाधान गर्न विद्यालय स्तर र विद्यालय बाहिर रहेका किशोर किशोरीहरुलाई बृहत यौनिकता शिक्षा एउटा दिगो उपाय हुन सक्छ ।

बृहत यौनिकता शिक्षा किशोर किशोरीहरुलाई जीवनपयोगी सिप सिकाउने पाठ्यक्रममा आधारित शिक्षा हो । यसले किशोर किशोरीहरुको अधिकारहरुका बारेमा जान्न र ति अधिकारहरुको रक्षा गर्न सिकाउँछ । किशोरकिशोरीहरुको अधिकारहरुको रक्षा गर्न आवश्यक पर्ने क्षमताहरुको ज्ञान, सिप, मनोवृत्ति तथा जीवनका मूल्य मान्यताका बारेमा सिकाउने गर्दछ । बृहत यौनिकता शिक्षाले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरुमा स्वस्थ, समृद्ध, सम्मानजनक जीवन जिउन, मर्यादित यौनिक सम्बन्ध बिकास गर्न लगायतका जिबनापयोगी सीपहरु सिकाउन सहयोग गर्दछ । बृहत्तर यौनिकता शिक्षा प्रजनन तथा यौन समस्यामा आधारित समस्याको मात्र समाधान गर्दैन । यसले यौनिक व्यबहार सँग सम्बन्धित व्यापक पक्षहरुसँग सरोकार राख्दछ ।

यौनिकता शिक्षा सम्बन्धि अन्र्तरास्ट्रिय प्राविधिक निर्देशिका २०१८ ले बृहत यौनिकता शिक्षा सम्बन्धि आठवटा अवधारणाहरु अघि सारेका छन् । जुन यसप्रकार छन् ः १) परिवार, छिमेकी, साथी, इस्टमित्र, मान्यजन लगायत अन्य व्यवसायिक सम्बन्धहरु बीच राखिने सम्बन्ध, आदरभाव २) सामाजिक तथा साँस्कृतिक मूल्य मान्यता, अधिकारहरु लगायत यौनिकता सम्बन्धि शिक्षा ३) लैंगिकता सम्बन्धि व्यवहार, दृष्टिकोण, हिँसा, पक्षपात, परम्परागत सोंच, विभेद सम्बन्धि ज्ञान तथा न्यूनीकरण सिप ४) हिँसा तथा यसबाट सुरक्षित रहने ज्ञान तथा सिप ५) स्वास्थ्य तथा भलाइ सम्बन्धि ज्ञान र व्यवहारिक सिप ६) मानव शरीर तथा विकास सम्बन्धि अवधारणा र ज्ञान ७) यौनिकता तथा यौनिक व्यवहार सम्बन्धि ज्ञान तथा सिप ८) यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान र व्याबहारिक सिप आदि ।
यसै सम्बन्धि सानो प्रयास विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) संस्थाले कैलालीको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कन्चनपुरको कृष्णपुर नगरपालिकाको करिब ६ वटा विद्यालयहरुमा राइट हियर राइट नाउ २ कार्यक्रम संचालन गरिरहेको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन युवाहरुलाई विद्यालय शिक्षा लागु गरेको छ । गोदावरी नगरपालिकाले बृहत यौनिकता शिक्षालाई स्थानिय पाठ्यक्रम मार्फत लागु गरेको छ । जस मार्फत गोदावरी नगरपालिकाका सबै सामुदायिक र निजि बिद्यालयहरुका बालबालिकाहरुले फाइदा पाउने विश्वास छ ।
बृहत यौनिकता शिक्षाले बालबालिका, किशोरकिशोरीहरु र युवायुवतीहरुमा सकारात्मक सोच र व्यवहार ल्याउन सहयोग गर्दछ । यो शिक्षाले उनीहरुमा जागरुकता ल्याई बालविवाह रोक्न, छाउपडी प्रथालाई न्यूनीकरण गर्न, छोरा छोरी बीच हुने गरेका विभेद रोक्न जस्ता कार्यमा अग्रसर गराउनेछ । साथै दौतरीहरु बिचमा हुने सम्बन्ध सम्मानजनक हुनेछ र यसले पार्ने प्रभाव वा दबावले गर्ने निर्णयहरु जवाफदेही र परिपक्व हुनेछन । महिनावारी, गर्भाधारण वा बालविवाहका कारणले गर्दा बालिकाहरुले विद्यालय छाड्ने दरमा समेत यसले प्रभाव पार्नेछ । यस शिक्षाले किशोरकिशोरिहरुमा यौन, प्रजनन स्वास्थ्य, तथा यौनिकतालाई हेर्ने प्रवृतिमा परिबर्तन भई जिम्मेबार र सम्मानजनक बनाउने छ । जसले गर्दा असुरक्षित यौन व्यबहारमा कमि आउने छ । किशोर किशोरीहरु परिपक्व भए पछि मात्र विवाह गर्ने छन् । जसले गर्दा बालविवाहको दर घट्ने छ । परिवार नियोजनका साधनहरुको प्रयोगमा वृद्धि भई अनिच्छित गर्भाधान र यौन रोगहरुमा कमि आउने छ ।
लेखक विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) की कार्य समिति सदस्य हुन ।
