अत्तरिया – प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले गेटा अस्पताल र मेडिकल कलेजका विषयमा मन्त्रालयमा तानातान परेको बताएका छन् । कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्दै सांसद बलायरले सो कुरा बताएका हुन् । ‘अस्पताल स्वास्थ्यले म हेर्छु भन्छ । कलेज शिक्षाले म हेर्छु भन्छ । तानातान परेको छ । मेरो त्यहाँ कति पसिना निस्किराखेको छ’ उनले भने ‘तर, यहाँ कोही अर्कैले बनाउने ठेक्का लिएको जसरी गालीगलौज गरेका छन । यो सह्य हुने बाला छैन ।’

उनले प्रधानमन्त्री प्रचण्ड आफूले अनुरोध गरेपछि अवलोकनमा आएको बताए । उनले भने ‘गेटामा त्यसै प्रधानमन्त्री छिर्नुभएको होइन् । मैले भनेको थिए प्रधानमन्त्री जी महेन्द्रनगरको विश्वविद्यालयको सिनेटमा जाँदै गर्दा मेडिकल कलेज बनेको देख्नुहुनेछ । त्यो भित्र पसेर अनुगमन गरेर फर्किनु भएन, निर्णय गर्नु भएन भने त्यसपछि के हुनेछ पछि थाहा पाउनु हुनेछ ।’ उनले गेटामा अस्पताल, कलेज हुँदै गन्तव्य विश्वविद्यालय भएकाले विश्वविद्यालय बन्ने कुरा नरोकिने बताए । उनले विश्वविद्यालयको विधेयक पारित भइरहेकाले त्यसका लागि पूर्वाधार तयार हुनुपर्ने बताए । उनले गेटाको विश्वविद्यालयमा आफूलाई कुरा नबुझेर विवादमा तानिएको बताए ।

‘विश्वविद्यालय देखाएर आर्थिक मन्दी रहेको बेलामा सुदूरपश्चिमलाई धोका दिन लागिएको त होइन भनेर मैले बोलेकै हो’ उनले भने ‘विश्वविद्यालय आफैमा बन्न सक्दैन । डडेल्धुराको यात्रा तय गर्ने हो भने गोदावरीबाट फल्टुडे भएर गैरा भएर डडेल्धुरा पुगिन्छ । सिधै पुगिन्न ।’ उनले नर्सिङ पढाउनको लागि पनि १ सय बेडको अस्पताल चाहिने भएकाले मेडिकल कलेज चलाउन कम्तिमा ५ सय बेडबाट अस्पताल सुरु गर्नुपर्ने बताए ।

‘अहिले गेटामा ओपिडी सुरु भएको छ । तर, त्यसमा आला लगाउने बाहेक के काम भएको छ ?’ उनले प्रश्न गरे ‘मेरो भनाई गेटामा वीर अस्पताल, टिचिङ अस्पतालमा भएका जति इक्युपमेन्ट ल्याउनुपर्छ भन्ने हो ।’ उनले गेटा अस्पतालमा यस क्षेत्रका जनताको पहुँच पुग्ने गरी सुविधा दिनुपर्ने बताए ।
उनले विश्वविद्यालय बनाउने कुर ताल्चा खोलेजस्तो नभएको बताए । ‘अहिले विधेयक बन्ने तयारीमा छ । हामीले त्यसका लागि बारबार सरकारलाई घचघच्याइरहेका छौ’ उनले भने ‘विश्वविद्यालय घरको ताल्चा खोलेजस्तो हो र ? त्यसका लागि सबभन्दा पहिला अस्पताल हुन जरुरी छ । अस्पताल सँगसँगै पढाइ हुन जरुरी छ । पढाई सँगसँगै रिसर्च अनुसन्धान हुन जरुरी छ । यहाँ त्यतिकै हावाको भरमा अर्कोलाई आक्षेप लगाउन पाइदैन ।’ उनले विश्वविद्यालय बनाउने कुरा फेसबुकका वालमा लेखेर नहुने बताए । उनले जिम्मेवार भएर अगाडि बढ्न सके मात्रै सफल हुन सकिने बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले संघीयता कायम राख्ने हो भने सुदूरपश्चिमको राजधानी घोषणा भएको ठाउँमा राजधानी बनाउनु पर्ने बताए । उनले राजधानी घोषणा गरिएको क्षेत्रमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुखको निवास, मुख्यमन्त्रीको कार्यालय मुख्यमन्त्रीको निवास र संसद् भवन निर्माण गरिनुपर्ने बताए । उनले अत्तरिया बजार क्षेत्रमा रहेको जग्गा सट्टापट्टाका लागि सेना सकारात्मक रहेको बताए । उनले सेनाले पेट्रोल पम्पको लागि जग्गा उपलब्ध गराइदिन आग्रह गरेको बताए । आगामी दिनमा यसका थप छलफल गरेर जग्गा व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
सम्बन्धित समाचार
अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु